गोरखा,१३ मंसिर । काठमाडौ पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकहरूलाई अनावश्यक दुःख दिएको आरोपमा गोरखाका १ जना युवक सहित १३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्ला घर भएका २२ वर्षीय बिवश खनखवास सहित १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका एसपी पवनकुमार भट्टराईले बताउनुभएको छ ।
उहाँका अनुसार ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौन जन्य क्रियाकलापमा संलग्न गराउने गुनासो प्रहरीकोमा आएको थियो ।
सोही क्रममा अनुगमनमा जाँदा बुधबार अनुगमनमा खटिएका व्यक्तिहरू उपर नै हातपात तथा गाली गलौज गरी अभद्र व्यवहार समेत गरेको भेटिएको थियो । त्यसपछि उनीहरूलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोकका २६ वर्षीय बादल तामाङ, २२ वर्षीय संजय लामा, बाजुराका २२ वर्षीय गणेश नाथ, तनहुँका २४ वर्षीय बिशाल थापा मगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री र दोलखाका १९ वर्षीय बिशाल नेपाली छन् ।
यस्तैगरी, रामेछापका २१ वर्षीय मिलन नेपाली, बाँकेका २३ वर्षीय अभिषेक थापा, दाङका २० वर्षीया प्रतिमा डाँगी र २१ वर्षीया प्रमिला पुन मगर पक्राउ परेका छन् ।
पक्राउ परेका सबैमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।