गोरखा, ६ मंसिर । भिमसेनथापा गाउँपालिकाले स्थानीय तहमा न्यायिक पहुँच, सुशासन र समुदायको सक्रिय सहभागिता बढाउने उद्देश्यसहित न्यायिक अभिमुखीकरण तथा टोल विकास सुदृढीकरण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार, मजदुर, कानुन व्यवसायीदेखि टोल विकास संस्थाका प्रतिनिधिसम्मको उल्लेखनीय सहभागितामा कार्यक्रम शुक्रबार सफलतापूर्वक सम्पन्न गरिएको हो ।
कार्यक्रममा गाउँकार्यपालिका अन्तर्गतका विषयगत समितिहरूले स्थानीय टोल विकासका संरचनात्मक आवश्यकता, व्यवस्थापनका चुनौती, न्यायिक सेवाको पहुँच, नागरिक सचेतना, समुदायमा हुने विवाद समाधान प्रक्रिया र सुशासन सुदृढीकरणका उपायहरूबारे विस्तृत कार्यपत्र प्रस्तुत गरि कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले वर्तमान स्थानीय संरचनामा देखिएका व्यवहारिक समस्या, योजना छनोटदेखि कार्यान्वयनसम्मका कमजोरी तथा सामाजिक समन्वयमा आवश्यक सुधारबारे छलफल गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुले टोल नै स्थानीय शासनको आधारभूत एकाइ भएकाले टोल सक्रियता जनताको समस्यासहित अधिकार सुनिश्चितताका लागि जोड दिएका छन् ।
गाउँपालिका अध्यक्ष बन्जराले “टोल सक्रिय भयो भने पालिका चल्छ, पालिका चल्यो भने विकास दौडिन्छ ।” उहाँले टोलको सशक्तिकरणले सेवा प्रवाहमा पारदर्शिता, जनसहभागिता र न्यायिक पहुँचलाई अझ सहज बढाउने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका न्यायिक समितिका संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती भट्टले न्यायिक अभिमुखीकरणबाट स्थानीयलाई कानुनी जानकारी, विवाद समाधान प्रक्रिया, मध्यस्थता विधि, लैङ्गिक समानता, हिंसा रोकथाम तथा सार्वजनिक सेवामा नागरिक अधिकारबारे सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
गाउँपालिकाले आगामी दिनमा प्रत्येक टोलमा न्यायिक सहायता केन्द्र सक्रिय बनाउने, टोल सुधार योजना नियमित रूपमा अद्यावधिक गर्ने तथा विषयगत समिति र समुदायबीच समन्वय अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्