गोरखा, २२ कात्तिक ः गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माईक्रोबस दुर्घटनामा चालकसहित १७ जना यात्रु घाइते भएका छन् । आज साँझ करिब ८ बजे भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माईक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
माइक्रोबस ब्रेक फेल भएर अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएको उहाँको भनाई छ । दुर्घटनामा परि ८ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महत्तो गम्भीर घाइते भएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेहरुको उद्दार गरि उपचारका लागि प्रदेश अस्पताल गोरखामा पठाइएको डिएसपी श्रेष्ठले बताउनुभयो ।
अन्य घाइतेहरुमा जमुना कुमारी महत्तो, सुमी चौधरी, सबिना चौधरी, जियानी चौधरी, प्रमिला चौधरी, रेश्मा चौधरी, मिना चौधरी, युविन चौधरी, सुदिर अधिकारी, मिरा अधिकारी, बिना चौधरी, ज्ञानु चौधरी, लक्ष्मी चौधरी र अप्सरा बडतौला रहेका छन् ।
घाइतेहरु अधिकांस चितवनको खैरेनी नगरपालिका घर भएको खुल्न आएको प्रहरीले जनाएको छ । उक्त माइक्रोबसमा १९ जना यात्रु सवार थिए । प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल हुँदा माईक्रोबस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।