Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाल आज ओमानसँग भिड्दै, जिते विश्वकप यात्रा पक्का


1.2K
Shares

नेपाल आज ओमानसँग भिड्दै, जिते विश्वकप यात्रा पक्का

काठमाडौँ, २९ असोज । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई हराउन सके तेस्रो पटक टी–२० विश्वकप यात्रा पक्का गर्नेछ ।

नेपालले यसअघि पहिलो पटक सन् २०१४ मा बङ्गलादेशमा भएको र सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्कप खेलेको थियो ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा राति ८स्४५ बजे सुरु हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।

जसले छनोटसँगै उपाधि यात्रा समेत सहज बन्नेछ । ठिक यस्तै ओमान पनि घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो अपराजित यात्रा कायम राख्ने अभियानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि फाइनलसरह महत्वपूर्ण छ ।

विगतको नतिजा हेर्दा नेपाल ओमानभन्दा बलियो छ । यसअघि दुई टोलीबिच भएको सात भिडन्तमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ ।

सुपर सिक्सका अघिल्ला दुई खेलमा अन्तिम ओभरमा पुगेर नतिजा आफ्नो पक्षमा पारेको नेपाललाई ओमानविरुद्ध बलियो आत्मविश्वासको खाँचो छ ।

नेपालले युएई विरुद्ध एक र कतारविरुद्ध पाँच रनको सनसनीपूर्ण जित निकाल्दै आफुलाई बलियो रुपमा प्रस्तुत गरिरहेको छ । त्यसैले ओमानलाई पनि उस्तै हार चखाएर नेपाल आज एक खेल अगावै विश्वकप यात्रा तय गर्न चाहन्छ ।

यसपछि नेपालले अन्तिम तथा चौथो खेल शुक्रबार सामोआसँग खेल्नेछ । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology