गोरखा, १२ असोज ः विश्व पर्यटन दिवसको अवसरमा नेपालकै प्रसिद्ध पदमार्गको रुपमा रहेको मनास्लु संरक्षण क्षेत्र घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई आज विशेष सम्मान गरिएको छ ।
दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि मनास्लु पदमार्गमा घुम्न आएका पर्यटकलाई खादा र माला लगाएर स्वागत तथा सम्मान गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाका संरक्षण अधिकृत एवं सूचना अधिकारी भूवनराज ओझाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनास्लु पदमार्गका दुई मुख्य पर्यटन चेकपोष्ट प्रवेशद्वार जगत र बाहिरिने सामागाउँमा स्थानीय समुदायको सहभागितामा सम्मान कार्यक्रम गरिएको हो । सो अवसरमा १ सय २५ जना विदेशी पर्यटक र ६८ जना स्वदेशी पर्यटक एवं पथप्रर्दशकलाई सम्मान गरिएको संरक्षण अधिकृत ओझाले बताउनुभयो ।
“स्थानीयबासी, होटल व्यवसायी र आमा समूहको सहभागितामा पर्यटकलाई सम्मान गर्दा पर्यटकहरु निकै खुशी देखिए, उहाँले भन्नुभयो, ‘‘अघिल्ला बर्षमा पर्यटक चोकपोष्ट बन्द हुँदा फिलिममा कार्यक्रम गर्ने गरिएको भएपनि चेकपोष्ट पुनः सञ्चालनमा आएपछि यसबर्ष दुवै चेकपोष्टमा पर्यटन दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।”
सामागाउँमा आयोजित सम्मान कार्यक्रममा इजरायल, बेलायत, अष्ट्रेलिया, नेदरल्याण्ड, बेल्जियम, जर्मनी, अमेरिका र पोल्याण्डलगायतका देशका पर्यटकको सहभागिता रहेको थियो । ‘‘सामागाउँमा ४३ जना विदेशी पर्यटक तथा २६ जना नेपाली पर्यटकलाई सम्मान गरिएको छ भने जगतमा ८२ जना विदेशी पर्यटक र ४२ जना स्वदेशी पर्यटकलाई सम्मान गरिएको छ,’’ उहाँले भन्नुभयो ।
खादा र माला लगाएर पर्यटकलाई स्वागत गर्दा विदेशी पर्यटकहरुले नेपाली परम्परालाई नजिकबाट बुझ्ने मौका पाएको उहाँको भनाई छ । मनास्लु पदमार्ग नेपालकै उत्कृष्ट पर्यटकीय पदमार्ग मार्ग मध्येको एक हो । यहाँ पछिल्ला बर्षहरुमा मनास्लु घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या दिनानु दिन बढ्दै गएको छ ।