गोरखा, १० असोज । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिरमा राखिएको दानपेटिकामा ६ महिनामा रु २ लाख भन्दाबढी भेटी संकलन भएको छ ।
गोरखा दरबार हेरचाह अड्डाले विहिबार मन्दिर राखिएको दानपेटिका खोलेर संकलित रकमको गणना गरेको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । ‘‘गएको बैशाख १५ गतेदेखि असोज ९ गतेसम्म संकलित भेटी गनिएको हो, उहाँले भन्नुभयो, ‘‘६ महिनाको अवधीमा रु २ लाख ८ हजार १४० जम्मा भएको रहेछ ।’’
गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखा, गोरखा दरबार सुरक्षापोष्टका प्रतिनिधिलगायतको रहोबरमा दानपेटिका खोलेर भेटी गणना गरिएको हो । गोरखा दरबार परिषर्मा गोरखकाली मन्दिरको मूल ढोका र गोरखा दरबार अगाडी भेटी संकलनका लागि दानपेटिका राखिएको मूलपुजारी भट्टराईको भनाई छ ।
गएको १९ बर्षदेखि राखिदै आएको दानपेटिकामा अहिलेसम्म यसपटकसमेत गरेर रु १७ लाख ५५ हजार ६१ संकलन भएको उहाँले बताउनुभयो । मूलपुजारी भट्टराईले भन्नुभयो, ‘‘बि.स २०६४ सालदेखि गोरखा दरबार तथा मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुबाट दानपेटिकामा भेटी संकलन गरिदैँ आएको छ ।’’
संकलित रकम मूलपुजारी भट्टराई र गोरखा दरबारका कर्मचारी लालबहादुर खनखवासको संयुक्त खातामा जम्मा गरिदैँ आएको छ । उक्त संकलित रकम खर्च सम्बन्धी कार्यविधि नभएकाले कहाँ कसरी खर्च गर्ने भन्ने बारेमा गोरखा दरबार हेरचाह अड्डा अन्यौलमा रहेको छ ।