Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा दरबारको दसैँघरमा बिधिपूर्वक जमरा राखियो


1.9K
Shares

गोरखा दरबारको दसैँघरमा बिधिपूर्वक जमरा राखियो

गोरखा ६ असोज ः गोरखा दरबारको दसैँघरमा आज बिधिपूर्वक जमरा राखिएको छ । वडादसैँ अर्थात नवरात्रको पहिलो दिन घटस्थापना पर्वको अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा विहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

परम्परा अनुसार विहान सवेरैको भुकभुके उज्यालोमा कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृह (पुजा कोठा) मा सवारी गराइ पदस्थापना गराएपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उहाँले बताउनुभयो ।

‘‘कैलास कोठामा देवीलाई सवारी गराएपछि विहानको शुभसाइतमा बिधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो, उहाँले भन्नुभयो, ‘‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको पटाङगिनीमा देवीको पुजा कार्यमा प्रयोग हुने भाडावर्तनहरु माझ्ने तथा शैलपुत्रीको पुजाका लागि आवश्यक सामाग्री तयार पार्ने काम गरिन्छ ।’’

गोरखा दरबारको दसैँघर र कालिका मन्दिरमा एक–एक पाथीका दरले जौँको जमरा राखिएको उहाँले बताउनुभयो । त्यस्तै गोरखनाथ मन्दिरमा ४ माना तथा उपल्लो कोट र तल्लो कोटमा एक–एक मानाका दरले जमरा राखिएको मूलपुजारी भट्टराईको भनाई छ ।

घटस्थापनाका दिन गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीले घर–घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसंगै आजदेखि कालिका मन्दिरमा नियमित रुपमा बलि दिने प्रचलनसमेत रहेको छ ।

त्यस्तै गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज विहानको शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टिकासंगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको पाइन्छ ।…दीपक श्रेष्ठ

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology