गोरखा, ५ असोज ः गोरखा जिल्ला भित्र अबरुद्ध रहेकोे सडक मर्मत, पहिरो हटाउने लगायतका कार्य तत्कालै गर्ने निर्णय भएको छ । जिल्ला प्रसासन कार्यालय गोरखामा आइतबार बसेको कार्यलय प्रमुखहरुको बैठकले जिल्ला भित्रका स्थानीय तहहरुसंग आवश्यक समन्वय गरेर चाडबाड मनाउन घर आउने र फर्कने सवै यात्रुहरुलाई असहज हुन नदिन अबरुद्ध सडकखण्ड सूचारु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो ।
त्यस्तै दशैंको लामो बिदामा कार्यालय बन्द रहने अवस्थालाई ध्यानमा राख्दै विभिन्न सरकारी कार्यालयमा सुरक्षा व्यवस्थापन मिलाउने निर्णय पनि बैठकले गरेको छ । दशैं बिदामा कार्यालयको सुरक्षाका लागि सम्बन्धित कार्यालयले पालो तोक्ने र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई गराउने निर्णय भएको हो ।
त्यस्तै कार्यालय प्रमुखहरूले मोबाइल फोन बन्द नगरी निरन्तर सम्पर्कमा रहने, अत्यावश्यक कार्यका लागि जिम्मेवार कर्मचारी तोक्ने, कार्यालयमा विद्युत तथा अन्य सुरक्षाको प्रबन्ध मिलाउने तथा सार्वजनिक विदाका बेला सरकारी सवारी साधनको प्रयोग नगर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै, सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन प्रयोग गर्नुपर्ने अवस्था आएमा अनिवार्य रूपमा सवारी पास लिनुपर्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो ।
बैठकले पास नलिइ सरकारी सवारी साधन प्रयोग गरिएको पाइएको त्यसको सुरक्षा जिम्मेवारी कार्यालय प्रमुखले लिनुपर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले तोकेको सेवा सञ्चालन गर्ने कार्यालयहरूले असोज ६ गते घटस्थापनाको दिनसमेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ ।
प्रजिअ कडरियाले बैठकमा सहभागी कार्यालय प्रमुखहरूलाई चाडपर्वको अवसरमा जनताको सहजता र सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य सम्पादन गर्न निर्देशन दिँदै निर्णयहरू पालना गर्न निर्देशनसमेत दिन भएको छ । प्रजिअ राज कडरियाको अध्यक्षतामा बसेको बैठकमा जिल्लास्थित सबै सरकारी कार्यालयका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।