गोरखाको धार्चे गाउँपालिकाले संविधान दिवस २०८२ विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । संविधान दिवसको स्मरणमा गाउँपालिकाले दिवसको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदानलगायतको कार्यक्रम सम्पन्न गरेको हो ।
शुक्रबार विहान माछीखोलास्थित कर्वडहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले संविधानले समावेशी लोकतन्त्र, संघीयता, समानता र सामाजिक न्यायलाई संस्थागत गरेको उल्लेख गर्दै यसको कार्यान्वयनमा सबैको सक्रिय योगदान अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
संविधान दिवसको अबसरमा माछीखोला बजार क्षेत्रमा निकालिएको प्रभातफेरि
उहाँले संविधानले दिएको अधिकार र कर्तव्यप्रति सचेत रहँदै एकताबद्ध भएर देशको समृद्धि र विकासतर्फ अघि बढ्नुपर्नेमा पनि विशेष ध्यानाकर्षण गराउनुभयो । संविधान सभामार्फत बनेको संविधानले सबै नेपालीलाई समान अधिकार, समावेशीता र सामाजिक न्यायको अनुभूति दिलाउने भएकाले यसलाई केवल उत्सवको रूपमा मात्र नभई कार्यान्वयनको आधारशिला बनाउनु पर्नेमा अध्यक्ष गुरुङले जोडदिनुभयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले संविधान दिवसलाई लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भावको आधारशिला मान्दै यसको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि सबै तहका जनप्रतिनिधि र कर्मचारीलाई जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा आग्रह गर्नुभयो ।
संविधान दिवसको अबसरमा माछीखोला बजार क्षेत्रमा सरसफाई गरिदैँ
दिवसको अवसरमा बिहान ८ बजे कार्यालय परिसरमा सरसफाइ कार्यक्रम, बिहान १० बजे प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री बुद्धिराम बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, सम्पूर्ण कर्मचारी, आमा समूह, माछिखोला प्रहरी चौकीका प्रतिनिधि, तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो ।