गोरखा १० बैशाख । गोरखाको शहिद लखन गाउँपालिका–८ बुङकोट स्थित सुनपानीमा खाग (अरिङगार जस्तै किरा) ले टोकेर ६ जना घाइते भएका छन् । आज बुधबार दिउँसो करिब १ बजेतिर जंगलमा गोठालो गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाई र बुद्धिराम श्रेष्ठलाई सुरुमा खागले टोकेको वडाध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिनुभयो ।
पछि बाटोमा हिडिरहेका बेला सोही ठाउँका इन्दीरा अम्गाई र उहाँकी ३ बर्षकी छोरीलाई पनि खागले टोकेर घाइते बनाएको उहाँले बताउनुभयो । इन्दिराले आफुहरुलाई खागले टोकेका फोन मार्फत जानकारी गराएपछि उद्धारका लागि पुगेका उहाँका बाबु लोलानाथ अम्गाई पनि खागले टोकेर घाइते बनाएको वडाध्यक्ष अम्गाईले जानकारी दिनुभयो ।
गम्भीर घाइते ४ जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ भने १ जनाको बुङकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले बताउनुभयो । गम्भीर घाइतेहरुको शरिर पुरै सुन्निएकाले औषधी दिन नसा पत्ता लगाउन नसनिएपछि जिल्ला अस्पताल पठाइएको उहाँको भनाई छ । ‘भेन्युबाट दिनुपर्ने औषधी रहेछ, सिरिन्ज हाल्नै नसक्ने अबस्था भएपछि उहाँहरुलाई जिल्ला अस्पताल पठाइएको हो ।’ उहाँले भन्नुभयो । घाइतेहरुको सवैको अबस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।