गोरखा, २७ भदौ । देशभर असामान्य परिस्थिति कायम भइरहेका बेला गोरखाका चार महिला संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै हालैका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
भदौ २३ गते विभिन्न युवाहरूले सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाउन, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न र राजनीतिक अधिकारको रक्षा गर्न आह्वान गर्दै आन्दोलनमा उत्रिएका थिए । तर आन्दोलनपश्चात् देशभर विभिन्न अप्रिय घटना र क्षति भएको भन्दै महिला संघहरूले दुःख व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “संविधानका महत्वपूर्ण संरचना — संघीय संसद भवन, राष्ट्रपतिको भवन, सिँहदरबार, विभिन्न मन्त्रालय, प्रदेशसभा तथा स्थानीय तहका कार्यालयहरू, साथै नेताहरूको निजी आवाससमेत तोडफोड र आगजनीजस्ता घटनाबाट प्रभावित हुनु गम्भीर चिन्ताको विषय हो ।”महिला संघहरूले यस्ता गतिविधिले लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्ने र अस्थिरता बढाउने भन्दै घटनाप्रति खेद व्यक्त गरेका छन् ।
साथै, आन्दोलनलाई शान्तिपूर्ण ढंगले अघि बढाउन आग्रह गर्दै हिंसात्मक क्रियाकलाप तत्काल रोक्न सबैलाई सचेत गराइएको छ । नेपाल महिला संघ गोरखाकी अध्यक्ष मन कुमारी गुरुङ, अखिल नेपाल महिला संघ गोरखाकी अध्यक्ष पार्वती पाठक अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गोरखाकी अध्यक्ष मालती भट्ट र अखिल नेपाल महिला संघ (समाजवादी) गोरखाकी अध्यक्ष शकुन्तला खत्रीले संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
महिला संघहरूले लोकतान्त्रिक मूल्य, शान्ति र स्थायित्वको पक्षमा उभिन सबैलाई आह्वान गर्दै देशलाई अस्थिर बनाउन सक्ने कुनै पनि गतिविधिबाट टाढा रहन चेतावनी दिएका समेत दिएका छन् ।
