Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

शिक्षामा सङ्कटः तनहुँमा ५८ प्रतिशत विद्यार्थीबिचैमा विद्यालय छोड्दै


1.1K
Shares

शिक्षामा सङ्कटः तनहुँमा ५८ प्रतिशत विद्यार्थीबिचैमा विद्यालय छोड्दै

तनहुँ, २१ भदौ । तनहुँमा ठुलो सङ्ख्यामा विद्यार्थीले माध्यामिक तहसम्म अध्ययन पूरा नगरी विद्यालय छोड्ने गरेको पाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार कक्षा १ मा भर्ना भएका मध्ये कक्षा १२ सम्म आइपुग्दा करिब ५८ प्रतिशत विद्यार्थीले पढाइबिचमै छोडेका छन् ।

एकाइ प्रमुख श्रेष्ठका अनुसार कक्षा १२ सम्म केवल ४१।९ प्रतिशत विद्यार्थी मात्रै विद्यालयमा टिक्ने गरेका छन् । छात्रा र छात्र दुवैको पढाइबिचमै छोड्ने दर समानरूपमा उच्च देखिएको छ । छात्रमा ५७ प्रतिशत र छात्रामा ५७।९ प्रतिशतले पढाइ छोड्ने गरेका छन् ।

श्रेणीगत विवरण हेर्दा, कक्षा १–५ मा भर्ना हुने विद्यार्थी ९४ प्रतिशत रहेको छ । तर कक्षा ६–८ मा भर्ना हुने विद्यार्थी घटेर ९३।३ प्रतिशत, कक्षा ९–१० मा ७१।६ प्रतिशत मात्र रहन्छ । माध्यामिक तहको अन्तिम कक्षा ११–१२ मा मात्र ४१।९ प्रतिशत विद्यार्थी विद्यालयमा टिक्न सकेका छन् ।

स्वदेशमा रोजगारीका अवसर कम हुनु, अभिभावक अध्ययनका लागि आर्थिक भार धान्न नसक्नु, र गुणस्तरीय शिक्षाको पहुँच नहुनु लगायते पढाई छाडेको एकाइ प्रमुख श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठले भन्नुभयो, ‘‘किशोरावस्थामा आर्थिक र सामाजिक दबाबले गर्दा विद्यार्थीको मनोबल कमजोर हुँदै विद्यालय छोड्ने प्रवृत्ति बढिरहेको छ ।’’ अध्ययन वातावरण र मार्गदर्शन दुवैको अभावले विद्यार्थी विद्यालयमा टिक्न नसक्ने अवस्थामा पुर्‍याएको उहाँ बताउनुहुन्छ ।

अभिभावकको भूमिका पनि यस अवस्थामा महत्त्वपूर्ण रहेको देखिन्छ । धेरै अभिभावक आफ्ना छोराछोरीको पढाइमा समय दिन सकिरहेका छैनन् वा आर्थिक कारणले आवश्यक सहयोग पुर्‍याउन सक्दैनन् । व्यास नगरपालिकाका सूचना अधिकारी तथा शिक्षा शाखा प्रमुख केदारराज आचार्य अभिभावक–विद्यालय साझेदारी बलियो भएमा विद्यार्थीको पढाइ टिकाइ राख्न सहज हुने बताउनुहुन्छ । शिक्षा सुधारका अभियान्ता भन्नेहरू कुरा राम्रो गर्ने तर सुधारको कदम नचालेकोले पनि विद्यार्थी छाड्ने क्रम बढेको आचार्य बताउनुुहुन्छ । गुणस्तरीय शिक्षक परिचालन, अतिरिक्त अध्ययन कक्षाहरू, नैतिक मार्गदर्शन र छात्रवृत्ति कार्यक्रम विस्तार गर्ने योजना बनाउनु पर्ने उहाँ बताउनुहुन्छ ।

आचार्यले भन्नुभयो, ‘‘विद्यार्थीको पढाइमा टिकाइ र विद्यालय छोड्ने दर घटाउन विद्यालय, अभिभावक र शिक्षा निकायबिच सहकार्य अनिवार्य छ यदि यी प्रयासहरू सफल भएमा मात्रै दीर्घकालीन रूपमा शिक्षा क्षेत्रमा सुधार सम्भव हुने देखिन्छ ।’’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology