गोरखा १७ भदौ ः गोरखा सदरमुकामम स्थायी घर भएका एक व्यक्तिको काठमाडौँस्थित घरबाट स्रोत नखुलेको ३ करोड ७५ लाख सहित सुनका गरगहना प्रहरीले मंगलबार बरामद् गरेको छ । काठमाडौँ महानगरपालिका–२६ गोंगबु स्थित टाउन प्लानिङमा गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका गहना समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।
‘श्रेष्ठको घरबाट सुनका गहना पनि ठुलो परिमाणमा भेटिएको छ ।’ उहाँले भन्नुभयो । उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बसपार्कबाट खटिएका अनुसन्धान अधिकृतहरूले रकम र गहनाको तौल यकिन गर्दै छन् । बरामद रकमको सङ्ख्या यकिन गर्न मेशिन मगाइएको एसएसपी अधिकारीले बताउनुभयो ।
घरमा ७६ वर्षीय श्रेष्ठ बस्दै आएका थिए । उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठ गोरखा उद्योग बाणिज्य संघ गोरखाका पूर्व अध्यक्ष समेत हुन् ।
उक्त रकम श्रेष्ठले कहाँबाट ल्याए, के प्रयोजनाका लागि राखे भन्नेबारे प्रहरीले केही खुलाएको छैन । ठूलो मात्रामा अवैध रकम भण्डारण गरेको सूचना आएपछि प्रहरीले छापा मारेको थियो । यद्यपि प्रहरीले उक्त रकम अवैध रहेको बताएको छ ।