गोरखा, ११ भदौ : नेकपा (माओवादी केन्द्र) पालुङटार नगर समितिको बैठक बुधबार सम्पन्न भएको छ। बैठकमा पार्टीका आगामी दुई महिनाका लागि संगठनात्मक कार्ययोजना बनाएको छ ।
त्यस्तै यही भदौ १४ गते नगरपालिका स्तरीय पार्टी स्कुल सञ्चालन गर्ने र भदौ २३ गते मध्य पहाडी लोकमार्ग केन्द्रीय अभियान अन्तर्गत पालुङटारमा हुने केन्द्रित कार्यक्रमको सवै खालको तयारी गर्ने निर्णय गरिएको छ।
बैठकका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् गोरखा जिल्ला इन्चार्ज अमर तमुले वर्तमान समसामयिक राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी दिनमा जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सगठन निर्माणमा सवै नेताकार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । इन्चार्ज तमुले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीलाई जनआधारयुक्त बनाउन वर्तमान कार्ययोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
बैठकमा पार्टी स्कुललाई प्रभावकारी बनाउन आवश्यक तयारी, विभिन्न तहका नेताकार्यकर्ताको सहभागिता सुनिश्चित गर्ने र जनतामाझ पार्टीका नीति तथा कार्यक्रमलाई स्पष्ट रूपमा पुर्याउने रणनीति तय गरिएको छ।
त्यस्तै मध्यपहाडी लोकमार्गको केन्द्रीय अभियानलाई सफल पार्न व्यापक जनसहभागिता जुटाउने, प्रचार–प्रसारलाई सुदृढ गर्ने र जनसम्बादलाई प्रभावकारी बनाउन आवस्यक सवै पुर्वतयारी गर्ने निर्णय गरिएको छ।
माओवादी केन्द्र नगरसमितिका अध्यक्ष मदन देवकोटाको अध्यक्षतामा बसेको बैठकमा पार्टी केन्द्रिय सदस्य खोपबहादुर कडेल, बैकल्पिक केन्द्रिय सदस्य विवस चिन्तन, प्रदेश सदस्य बन्दना पाण्डे, नगर कमिटीका पदाधिकारी, वडास्तरीय कमिटीका प्रतिनिधि तथा सक्रिय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।