Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गण्डकी प्रदेश सरकारले ऋषि पञ्चमीका अवसरमा सार्वजनिक बिदा नदिने निर्णय


2.5K
Shares

गण्डकी प्रदेश सरकारले ऋषि पञ्चमीका अवसरमा सार्वजनिक बिदा नदिने निर्णय

गोरखा, ७ भदौ । गण्डकी प्रदेश सरकारले यस वर्ष ऋषि पञ्चमीका अवसरमा सार्वजनिक बिदा नदिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखराले आज एक सूचना प्रकाशित गर्दै आगामी भदौ १२ गते बिहीबार पर्ने ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा नहुने प्रष्ट पारेको हो । सूचना अनुसार महिला कर्मचारीलाई समेत लागू हुने गरी कुनै पनि तहका सरकारी कार्यालय, शिक्षण संस्था र सार्वजनिक निकायहरू सामान्य दिनझैं सञ्चालन हुनेछन् ।

ऋषि पञ्चमी हिन्दू महिलाहरूले आत्मशुद्धि र पापमोचनका लागि व्रत बसेर मनाउने धार्मिक पर्व हो । हरितालिका तीजको भोलिपल्ट पर्ने यो पर्वमा महिलाहरू विशेषगरी नदी, तलाउ वा कुण्डमा स्नान गरी सप्तऋषिको पूजा गर्ने परम्परा रहिआएको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भए पनि यस वर्ष गण्डकी प्रदेश सरकारले यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छैन ।

यसअघि विभिन्न वर्षहरूमा प्रदेश सरकारले यस पर्वलाई सार्वजनिक बिदा दिने प्रावधान राख्दै आएको भए पनि चालु वर्ष २०८२ को बिदा तालिकामा ऋषि पञ्चमी समावेश नभएकाले सरकारी कार्यालय र सेवाप्रवाह गर्ने निकायहरू नियमित रुपमा सञ्चालन हुनेछन् ।

यस निर्णयसँगै सेवाग्राहीहरूले पनि भदौ १२ गते सामान्य दिनझैं आवश्यक सेवा लिन सक्ने भएका छन् । प्रदेश सरकारले भने धार्मिक आस्थाअनुसार पर्व मनाउन सकिने तर सार्वजनिक बिदा नहुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology