Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भिमसेनथापा गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा गण्डकी प्रदेशमै तेस्रो, जिल्लामा पहिलो


2.2K
Shares

भिमसेनथापा गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा गण्डकी प्रदेशमै तेस्रो, जिल्लामा पहिलो

गोरखा,७ भदौ । गोरखाको भिमसेनथापा गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सार्वजनिक गरिएको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

नेपालभरका सबै स्थानीय तहहरुको सेवा प्रवाह, सुशासन, पारदर्शिता, विकास निर्माण र नागरिकमैत्री कार्यशैलीलाई आधार बनाएर गरिएको मूल्याङ्कनमा भिमसेनथापा गाउँपालिकाले ८७ दशमलव ७५ अंक प्राप्त गरेको छ । यससँगै गाउँपालिका गण्डकी प्रदेशमै तेस्रो स्थानमा उक्लन सफल भएको छ भने गोरखा जिल्लामा भने पहिलो स्थान हासिल गरेको छ ।

गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराका अनुसार यो सफलता आकस्मिक नभई योजनाबद्ध कार्यशैली र सबै सरोकारवालाको निरन्तर परिश्रमको प्रतिफल हो । उहाँले भन्नुभयो, “यस उपलब्धिको श्रेय सम्पूर्ण गाउँवासी, जनप्रतिनिधि, कर्मचारी, सेवा उपयोगकर्ता र सरोकारवालालाई जान्छ । हामी सबैको सामूहिक प्रतिबद्धता र सक्रिय सहभागिताकै कारण भिमसेनथापा गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्टतर्फ उक्लिन सफल भएको हो ।”

संघीय मन्त्रालयले सार्वजनिक गर्ने संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्थानीय तहलाई मूल्याङ्कन गर्न १० वटा सूचक प्रयोग गरिएको थियो । यसमा सेवा प्रवाहको गुणस्तर, विकास–निर्माणको प्रभावकारिता, सुशासन र पारदर्शिता, आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरण, नागरिकको सहभागिता लगायतका मापदण्डलाई आधार बनाइएको थियो ।

गाउँपालिकाले हासिल गरेको यो सफलता केवल संस्थागत गौरव मात्र नभई सम्पूर्ण पालिकावासीको सामूहिक उपलब्धि भएको गाउँपालिका अध्यक्ष बञ्जाराले उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह, दिगो विकास र सुशासनलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

भिमसेनथापा गाउँपालिकाले हासिल गरेको यो सफलता स्थानीय तह सुदृढीकरण र जनतामुखी शासन प्रणालीतर्फको महत्वपूर्ण कदम मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology