गोरखा, २९ साउन ः बैकिङ्ग कसुर मुद्दामा फरार गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ४ का जननिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसवाट वडा सदस्यमा निर्वाचित हुनुभएका लोकराज भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
आफ्नो बैंक खातामा पर्याप्त रकम नहुदा नहुदै ५ लाख रुपैयाँको चेक दिएको र चेक बाउन्स भएपछि पिडितले अदालतमा हालेपछि उक्त मुद्वामा उनी दोषी ठहर भएका थिए । उच्च अदालत तुलसीपुर, नेपालगञ्जको फैसलाबाट भट्टलाई ७ दिन कैद र ५ लाख जरिवाना फैसला सुनाइएको थियो । वडा सदस्य भट्ट गाउँपालिकाको नियमित काममा भएपनी प्रहरीले भने उनलाई फरारको सूचीमा राखेको थियो ।
उच्च अदालतको फैसला कार्यान्वयनकालागि गोरखा अदालतले प्रहरीलाई पत्राचार गरे लगत्तै भट्टलाई गोरखा प्रहरीले साउन २२ गते घरबाटै प्रकाउ गरेको डिएसपी सुवेदीको भनाई छ । पक्राउ परेका भट्टको कैद म्याद सकिएको भएपनि जरिवाना बापतको रकम दाखिला गर्न नसकेपछी पुनः गोरखा कारागार चलान गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
यहीँ साउन २२ गते पक्राउ परेका उनलाई २३ गते गोरखा जिल्ला अदालत पेश गरिएकोमा अदालतले ७ दिन कैदकोलागि कारागार चलान गरेको थियो । उच्च अदालत तुलसिपुरले गोरखा जिल्ला अदालतलाई फैसला कार्यान्वयका लागि पत्राचार गरेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार भट्टलाई फैसला कार्यान्वयन संगै कैद भुक्तानपछी बारा जिल्ला अदालतमा समेत बैंकिङ कसुर मुद्वा दर्ता भएकोले जिल्ला प्रहरी कार्यालय बारामा बुझाउनु पर्नेछ ।