काठमाडौं ,२१ साउन । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले समाजमा नकारात्मक असर पार्ने गरी प्रतिनिधिसभा बैठकमा बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेश नहुने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कानुनमन्त्री चौरसियाले उक्त विधेयक सदनमा पेश नहुने विश्वास व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो,समाजमा नकारात्मक असर पार्नेगरी तथा सामाजिक मूल्य मान्यताप्रति प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायत कुनै पनि विधेयक प्रतिनिधिसभा पेश नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
उहाँले बहुविवाहका सम्बन्धमा आएको संशोधन व्यवस्था,विवाहको उमेर सम्बन्धी व्यवस्था,अग्रिम जमानतसम्बन्धी व्यवस्था र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने सजाय माफी,मुल्तबी वा दण्ड सजाय परिवर्तन सम्बन्धी व्यवस्थाबारे थप छलफल गरेर संशोधन–परिमार्जन हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री चौरसियाले उपसमितिले सम्बन्धित मन्त्रालयसँग राय–सल्लाह लिएर आवश्यक छलफल गरी विधेयकलाई संशोधन–परिमार्जन गर्ने बताउनुभयो । उहाँले सामाजिक व्यवस्थामा खलल पुर्याउने गर्नेगरी कानुन निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन नसक्ने बताउनुभयो । सरकारले बहुविवाहलाई प्रोत्साहन गर्न नयाँ कानुन ल्याउन लागेको भन्दै संसद भित्र र बाहिर विरोध सुरू भएको छ ।