गोरखा, ४ साउन ः गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्रयाक खुलेको ३३ बर्षपछि सडक कालोपत्रको काम सुरु भएको छ । गोरखा नगरपालिका–१३ देउराली र पालुङटार नगरपालिका–८, रातमाटे जोड्ने उक्त सडकखण्डको जैकोटदेखि घोरथुम्कासम्म सडक कालोपत्र सम्पन्न भएको गोरखा नगरपालिका १३ की वडाध्यक्ष मित्रा परियारले जानकारी दिनुभयो ।
‘‘साना शहरी विकास कार्यालय कास्कीबाट बिनियोजित बजेटमार्फत मझुवा–बैटारी–हटिया सडकखण्डमा ४ सय मिटर सडक कालोपत्रको काम लगभग सम्पन्न भएको छ, उहाँले भन्नुभयो, ‘‘वडा नम्बर १३ का जनताले यहीँ वडाको हकमा पहिलो पटक वडाभित्र सडक कालोपत्र देख्न पाएका छन् ।’’ बि.स २०४९ सालमा सो सडक खण्डको ट्रयाक खुलेको थियो ।
ठेकेदार कम्पनी चिराग कन्ट्रक्सन प्रोपाइटर लक्ष्मण श्रेष्ठले ४ सय मिटर सडक कालोपत्र, ७५ मिटर ढलान र ५ सय मिटर नाला निर्माणको काम करिब सम्पन्न भएको बताउनभयो । उक्त सडक खण्ड निर्माण निर्माणका लागि ठेकेदार कम्पनीले रु ६६ लाख ३५ हजार ९३९ मा ठेक्का सम्झौता गरेको थियो ।
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गोरखा–आँबुखैरनी सडकखण्डसंग जोडिएको सडक भएपनि लामो समयसम्म स्तरोन्नती नहुँदा त्यस क्षेत्रका बासिन्दले आवातजातवमा कठिनाइ भाग्दै आएका छन् । सो सडकखण्ड मझुवा चौकी, दराई गाउँ, जैकोट, सातदोवाटे, बैटारी हुँदै पालुङटार नगरपालिकासंग जोड्ने प्रमुख सडक हो ।
‘‘कालोपत्रको काम अघि बढेसंगै सडकले विस्तारै मुहार फेर्दै गएको छ, स्थानीयबासी बिक्रम मल्लले भन्नुभयो, ‘‘गाउँमा उत्पादित कृषि उत्पादनलाई बजारसम्म पु¥याउन पनि सहज हुनेछ भने गाउँमा दैनिक उपभोग्यबस्तु बजारबाट खरिद गरेर लैजान पनि पाउने भएका भएका छन् ।’’
सोही सडकखण्ड अन्तर्गत मझुवाचौकीदेखि दराई गाउँसम्म रु १ करोड बजेटबाट काम भइरहेको भने दराई गाउँदेखि जैकोटसम्म पनि रु ४ करोड बजेट बिनियोजन भएर काम अघि बढिरहेको छ ।