गोरखा, २ साउन । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा आर्थिक बर्ष २०८१÷०८२ मा अहिलेसम्मकै धेरै विदेशी पर्यटक घुम्न पुगेका छन् । गएको साउनदेखि यहीँ असारसम्मको एक बर्षको अवधिमा मनास्लु क्षेत्रमा १२ हजार ५ सय १२ जना विदेशी पर्यटक घुम्न पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।
‘‘यसबर्ष मनास्लु क्षेत्रको भ्रमणमा पुग्ने विदेशी पर्यटकको संख्या अहिलेसम्मकै सर्वाधिक हो, उहाँले भन्नुभयो,‘‘मनास्लु क्षेत्रमा पछिल्लोसमय विदेशी पर्यटकको आर्कषण बढ्दै गएको छ ।’’ गएको आर्थिक बर्षमा सार्क राष्ट्रका २ सय ५३ जना, राष्ट्रवाहेक अन्य राष्ट्रका विदेशी पर्यटक १२ हजार हजार २ सय ४८ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेको उहाँको भनाई छ ।
सोही अवधीमा ११ जना नेपाली पर्यटकले पनि शुल्क तिरेर मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । मनास्लु क्षेत्रमा अघिल्लो आर्थिक बर्ष २०८०÷०८१ मा ९ हजार ७ सय ८३ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा २ हजार ७ सय २९ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेको प्रमुख शेरचनले बताउनुभयो ।
‘‘मनास्लु क्षेत्र जाने पदमार्ग अहिले निक्कै सहज र सुरक्षित पनि बनेको छ, उहाँले भन्नुभयो, ‘‘पदमार्गको प्रचार–प्रसार उत्तिकै हुँदै गएको छ, त्यहाँ पुग्ने पर्यटकलाई खान र बस्नका लागि सुविधा सम्पन्न होटलहरु निर्माण भएकाले पनि पर्यटकको संख्या बढ्न थालेको हो ।’’
गएको आर्थिक बर्षमा मनास्लु घुम्न पुग्ने विदेश पर्यटकहरु मध्ये फ्रान्सका सवैभन्दा बढी रहेका छन् । फ्रान्सका ७ सय ६३ पुरुष र ६ सय ४४ महिला गरि १ हजार ४ सय ७ जना पर्यटकले गतबर्ष मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । त्यस्तै जमर्नीका १ हजार ३ सय ३० जना, संयुक्त राज्य अमेरिकाका ९ सय ७७ जना, नेदरल्याणका ९ सय ३८ जना रहेको छन् ।
त्यसवाहेक इजरायलका ७ सय ७१ जना, बेलायतका ७ सय ३२ जना, अष्ट्रेलियाका ६ सय ६८० जना, स्पेनका ४ सय २८ जना, रसियाका ४ सय २२ जना र क्यानडाका ४ सय १४ जना रहेको छन् भने अन्यदेशका नागरिकहरु पनि मनास्लु क्षेत्र घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा आर्थिक बर्ष २०७९÷८० मा ७ हजार ७ सय ५०, आर्थिक बर्ष २०७८÷७९ मा २ हजार २ सय २२ जना विदेशी पर्यटक घुम्न पुगेका थिए ।.