धादिङ, २४ असार । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा दाहसंस्कार हुँदै गरेको चिता मंगलबार बिहान आएको आकस्मिक बाढीले बगाएको छ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’का अनुसार एक आफन्तको निधनपछि बिहान ५ बजे शवलाई दाहसंस्कारका लागि त्रिशूली नदी किनारमा लगिएको थियो ।
शव लगभग पूर्ण रूपमा दाह भएको अवस्थामा मंगलबार बिहान साढे ९ बजेतिर नदीमा अचानक बाढी बढेपछि चिता बगिएको हो ।
“शव त लगभग जलिसकेको अवस्था थियो, चिता भने अझै बाँकी थियो। त्यसै बेलामा बाढी आयो र चिता बगायो,” अध्यक्ष थपलियाले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष थपलियाले त्रिशूली नदी किनारमा दाहसंस्कार गर्दा बाढीको सम्भावित जोखिमबारे पहिल्यै सतर्कता अपनाइएको बताउनुभयो । “हामी सचेत भएर दाहसंस्कारमा सहभागी भएका थियौं । भाग्यले सबै सुरक्षित छौं,” उहाँले भननुभयो ।
यसैबीच, चीनतर्फबाट आएको बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढिरहेको छ । सोही बाढीको असरले रसुवामा ठूलो क्षति भएको छ। त्यहाँ कम्तिमा १८ जना बेपत्ता भएका छन्, जसमा ९ जना नेपाली, ८ जना चिनियाँ र १ जना नेपाली प्रहरी रहेका छन् ।