काठमाडौं,२२ असार । नेकपा माओवादी केन्द्रकी सांसद् रेखा शर्माले शिक्षा विधेयकमाथिको छलफलमा कुनै पनि पार्टीका प्रमुख सचेतकको ह्वीप नमान्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा शिक्षा विधेयकमाथिको छलफलमा सांसद् शर्माले दलगत ह्वीप अस्वीकार गर्ने बताउनुभएको हो ।
सांसद् शर्माले ह्वीप नमान्ने बताएलगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे उठेर नियमापत्ति जनाएका थिए । घिमिरेले बैठक छाडेर बाहिरिने बताएपछि समिति सभापति अमर बहादुर थापाले माफी मागेका थिए ।
माओवादी सांसद् शर्माले संसदीय समितिबाट शिक्षा विधेयक पारित गराएर जतिसक्दो छिटो संसदमा पेस गर्नुपर्ने मत राख्दै आउनुभएको छ । अघिल्लो बैठकमा पनि सांसद् शर्माले प्रधानमन्त्री केपी शर्मा ओली विदेश रहेका बेला टेलिफोन सम्पर्क गरेर भएपनि विधेयक पास गर्न शिक्षामन्त्रीलाई आग्रह गर्नुभएको थियो ।