गोरखा, २१ असार ः गोरखा नगरपालिका– ८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । वडा भित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्याक्टर गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिनुभयो ।
किसानलाई कृषि प्रविधिमैत्री बनाउदै खेती गर्दा कम लगानीमा उत्पादन बृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न, युवा कृषक र महिलालाई लक्षित गरेको ट्याक्टर वितरण गरिएको उहाँको भनाई छ ।
‘‘प्रत्येकलाई किसानलाई २०÷२० हजार अनुदान पर्ने गरी हाते ट्याक्टर वितरण गरिएको हो, वडाध्यक्ष खत्रीले भन्नुभयो, ‘‘तीन बर्षको अवधीमा वडा भित्र ८४ जना किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ ।’’ कृषकहरुलाई बितरण गरिएको ट्याक्टर ६ हर्जपावर क्षमताको रहेको उहाँले बताउनुभयो ।
वडा कार्यालयको चालु आर्थिक बर्ष २०८१/०८२ को कृषिमा यान्त्रिकीकरण कार्यक्रम अन्तरगत किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो ।
परम्परागत खेती प्रणालीमा खेतबारी जोत्न लागि गोरुको प्रयोग गर्दै आएको भएपनि गाउँमा पछिल्लोसमय गोरु पाल्नेको संख्या न्युन हुँदै गएकाले गोरुको अभावमा खेतबारी बाँझो नवसोस् भन्ने उद्देस्यसहित नगरपालिकाले कृषकलाई कृषि औजारमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख कृष्णबहादुर रानामगरको भनाई छ ।
अनुदान उपलब्ध गराउदा यसअघि अनुदान नपाएका किसानलाई मात्र छनौट गर्ने गरिएको उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई व्यवसायिक बनाउन र उत्पादन बृद्धिका लागि कृषि प्रणालीलाई यान्त्रिक एवं आधुनिकिरण गर्नु आवश्यक रहेकाले पनि कृषि औजार अनुदान कार्यक्रमलाई नगरपालिकाले प्राथामिकता दिदैँ आएको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो ।