पर्वत, ७ जेठ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आआयोजना’अन्तर्गत पर्वतको जलजलामा निर्माणाधीन सडक छ वर्षदेखि अलपत्र बनेपछि वैकिल्पक मार्ग बनाउन थालिएको छ । जलजला गाउँपालिका–७ मिलनचोकबाट सल्यान–घायखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजना छ वर्षदेखि अलपत्र बनेको हो ।
ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक अलपत्र बनेपछि स्थानीयले वैकिल्पक मार्ग खोल्न थालेका हुन् । उक्त खण्डअन्तर्गत मिलनचोकबाट सल्यानसम्मको तीन दशमलव ५०० मिटर गत वर्ष कालोपत्र भए पनि सोभन्दा माथिको सात दशमलव पाँच किलोमिटर सडक अलपत्र बनेको हो ।
धाइरिङ्गस्थित किराखोरमा बर्सेनि झर्ने पहिरोका कारण वर्षायाममा सडक पूर्णरूपमा क्षति हुने गरेकाले वैकिल्पक मार्ग निर्माण गर्न थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो नपर्ने र बस्तीसमेत सुरक्षित हुने दिशातर्फबाट वैकिल्पक मार्ग खोलिएको छ ।
वैकल्पिक मार्गका रूपमा सल्यानबाट घायखेतसम्मको ट्राक परिवर्तन गर्न थालिएको अध्यक्ष आचार्यले बताउनुभयो । ठेकेदारले समयमा काम नगर्दा किराखोर पहिरोमा बर्सेनि समस्या बढेपछि वैकल्पिक मार्ग खोली हाल स्तरोन्नतिको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
दुई किमी लामो सडकको नयाँ मार्ग जलजला गाउँपालिकाले आफ्नै लगानीमा खोलेको हो । सोही सडकमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटले स्तरोन्नति सुरु गरिएको आचार्यले बताउनुभयो । टेवा पर्खाल लगाउने, ग्याबियन जाली भर्ने, घुम्ती सुधारलगायत काम भइरहेका जनाउँदै उहाँले स्तरोन्नति सम्पन्न भएपछि बाह्रै महिना यातायातको सुविधा पुग्ने उल्लेख गर्नुभयो ।
आवागमन अत्यन्तै कठिन रहेको उक्त सडकको भौगोलिक अवस्था सुधार र स्तरोन्नतिका लागि रु १० करोडको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०तयार गरी प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिएको उहाँले बताउनुभयो ।
यो दुई किमी सडकले सल्यानबाट घायखेत जोड्ने छभने किराखोरको पहिरोतर्फको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीय हेमनाथ आचार्यले बताउनुभयो । उहाँका अनुसार सडक अलपत्र पर्दा धाइरिङ्गका एक हजारभन्दा बढी परिवारले समस्या भोग्दै आएका छन् । तरकारीको पकेट क्षेत्र मानिएको धाइरिङ्गमा उत्पादित वस्तु निकासी तथा भुमे ठाकुर र जलजला जानेआउने पर्यटक तथा भक्तजनलाई समस्या पर्दै आएको उहाँले बताउनुभयो ।
विसं २०७८ मङ्सिर ५ गते निर्माण सम्पन्न गर्नेगरी विसं २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।
सडक निर्माणको जिम्मा पाएको हिमदुङ एण्ड थोकर निर्माण सेवाले विभिन्न बाहना बनाउँदै समयमा काम नगर्दा आयोजना अलपत्र बनेको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ ।
सडक सम्पन्न गर्न पटकपटक निर्माण व्यावसायीलाई म्याद थप गरे पनि विभिन्न बाहना बनाउँदै ढिलासुस्ती गरिरहेको प्रमुख अर्यालले बताउनुभयो । उहाँका अनुसार कार्यालयले पटकपटक कालोसूचिमा राखेर काम सम्पन्न गर्न ताकेता गरेपनि अटेर गर्दै आएको छ ।
सडक निर्माणलाई सम्पन्न नगरी अलपत्र पारेर छाडिएकाले बस्ती क्षेत्रमा पहिरोको जोखिम बढेको स्थानीय पूर्ण परियारले बताउनुभयो । उहाँका अनुसार निर्माणले निरन्तरता नपाउँदा बनाइएका संरचना पनि भत्किएर जीर्ण बनेका छन् ।