गोरखा २, जेठ : गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ५ स्थित मुच्चोकटार आधारभूत विद्यालयका बालबालिकाहरूलाई खाद्यान्न तथा स्टेसनरीलगायतका सामग्री वितरण गरिएको छ। सामाजिक अभियान्ता एवं समाजसेवी उत्तरकुमार श्रेष्ठको विशेष पहलमा विहिबार विद्यालयका १५ जना विद्यार्थीलाई पोशाकसहित स्टेसनरी सामग्री र खाद्यान्न वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी विपन्न परिवार तथा दलित समुदायका विद्यार्थीहरूलाई सहयोग गरिएको अभियन्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सो क्रममा विद्यालयलाई १० बोरा चामल चिनी दाल, चना, केराउ, चियापत्ती, मसला, बिस्कुट, चाउचाउ, खाने, तेललगायत वितरण गरिएको उहाँको भनाइ छ। त्यस्तै १५ जना विद्यार्थीहरुलाई जमेट्रिक बक्स, सिसाकलम, कापी र स्कुल पोशाक तथा शिक्षकहरूका लागि डायरी उपलब्ध गराइएको हो ।

कार्यक्रममा समाजसेवी श्रेष्ठ, सुनिता वसेल र नरनाथ देवकोटाले मन्तव्य व्यक्त गरेका छन् । कार्यक्रममा विशेष अतिथि सुष्मा देबकोटा,अथिति अमृत श्रेष्ठ,अन्जली श्रेष्ठ, विद्यालयका प्रधानध्यापक चिना गुरूङ्ग, सहायक प्रधानध्यापक अम्बिका देबकोटालगायतको सहभागिता रहेको थियो ।