गोरखा, १७ बैशाख । गोरखामा खेल क्षेत्रमार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गर्न तीन लाख पुरस्कार राशीको खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । प्रगतीशिल युवा नेपालको आयोजनामा यहीँ बैशाख २९ गतेदेखि जेठ २ गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागिएको आज सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
संस्थाले आयोजना गर्न लागेको ‘प्रथम गोरखा कप २०८२’ मा बिभिन्न ८ टिमको सहभागिता रहने अध्यक्ष दीपक थापाको भनाई छ । ‘‘प्रतियोगिताले गोरखालाई खेलकुदको क्षेत्रमा अग्रसर गराउने र पर्यटन विकाससंगै गोरखाको ऐतिहासिक, धार्मिक तथा सामाजिक संस्कृतिलाई अघि बढाउन टेवा पुग्ने विश्वास लिइएको छ ।’ उहाँले भन्नुभयो ।
‘राष्ट्रका लागि खेल, महिला उद्यमशिलता र युवा स्वरोजगारमा जोड पुर्खाको शान, गोरखाको पहिचान’ भन्ने नाराका साथ हुने प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु तीन लाख मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले रु १ लाख ५० हजारसहित मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले रु ७५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट कोच र उत्कृष्ट सर्भरलाई पनि रु ५ हजार पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब ३४ लाख २५ हजार रुपैया खर्च हुन अनुमान गरिएको छ ।
गोरखा नगरपालिका–६, हरमटारीस्थित हरमटारी खेलकुद मैदानमा प्रतियोेगिता सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न विभागीय टिमका खेलाडीहरुको पनि सहभागिता रहने अध्यक्ष थापाले जानकारी दिनुभयो ।