गोरखा, १३ बैशाख ः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनःनिर्माणले भुकम्पअघिको जस्तै बारपाक बनाउन नसकिएको बताउनु भएको छ । १० औँ गोरखा भुकम्प स्मृति दिवसको अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकाले बारपाकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बारपाकको पुराना शैली र संरचना हराएको बताउनु भएको हो ।
‘‘भुकम्पभन्दा पहिलाको बारपाक र अहिलको बारपाकको जुन संरचनाहरु निर्माण भएका छन्, त्यो धेरै फरक भएको छ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘बारपाक हेर्न आउने पर्यटकका लागि भुकम्पअघिको जस्तो बारपाक हामीले बनाउन सकेनौँ ।’’
भुकम्पपछिको पुनःनिर्माणले उहाँले बारपाकको मौलिकता हराएकोभन्दै त्यसलाई उस्तै बारपाक बनाउने एउटा अवसर गुमाइएको बताउनुभयो । भुकम्पपछि बारपाकमा गर्नुपर्ने धेरैजसो पुनःनिर्माणको काम सम्पन्न भइसकेको र बाँकी रहेका कामलाई छिटो सम्पन्न गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोडदिनुभयो ।
‘‘भुकम्पपछि अहिले पर्यटकीय गाउँ बारपाक जाउँ भन्ने ‘ट्रेन’ बसेछ, उहाँले भन्नुभयो, ‘‘बारपाक आउने पर्यटकको बसाइ लम्ब्याउने गरी योजना बनाउने र यहाँको आर्थिकस्तर बढाउने गरी योजना निर्माण गर्नुपर्छ ।’’
मुख्यमन्त्री पाण्डेले जनताको निरासामा खेल्न चाहाने र आफ्नो राजनीतिक स्वार्थसिद्ध चाहानेहरुले देशमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजिरहेको बताउनुभयो । ‘‘परिवर्तन धेरै भएका छन्, भौतिक पूर्वाधारहरुको विकास भइरहेको छ, उहाँले भन्नुभयो, केही पनि नभएको भन्ने हुँदै होइन् ।’’
समिति स्रोत र साधानका कारण जनताको सवै आवश्यकता एकैचोटी पूरा गर्नसक्ने अवस्था नरहेको उहाँले स्पस्ट पार्नुभयो ।.