Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

वायु प्रदूषणबाट  जोगिन चिकित्सकको सुझाव


1.6K
Shares

वायु प्रदूषणबाट  जोगिन चिकित्सकको सुझाव
 चितवन, २४ चैत । देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ ।  वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा सङ्कलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ । विशेषगरी श्वासप्रश्वास र आँखामा समस्या देखिन थालेको छ ।
वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल अधिकारी श्वासप्रश्वासका बिरामीका लागि अहिलेको अवस्था अत्यन्तै नराम्रो भएको बताउनुहुन्छ । अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने तथा रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उहाँको भनाइ छ ।
उहाँको भनाइमा कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई यो प्रदूषणले सामान्य अवस्थाभन्दा बढी जोखिममा हुने गर्छ । चितवन मेडिकल कलेजमा कार्यरत अधिकारी भन्नुहुन्छ, “अस्पतालमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढिरहेको छ, नियमित औषधि सेवन गर्नेलाई यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउँछ ।”
विशेषगरी बालबालिका, वृद्धवृद्धामा मुटु र मिर्गौलाका रोगीलाई यो प्रदूषणबाट जोगाउनुपर्नेमा चिकित्सकको जोड छ । बालबालिकाको रोगसँग लड्ने क्षमता पूर्ण विकसित नहुने भएकाले उनीहरू बाहिर खेल्दा धुलोको सम्पर्कमा आउँदा दम र श्वासप्रश्वासका समस्या बढ्न सक्ने अधिकारीको भनाइ छ ।
वायु प्रदूषणका कारण धुलोका कण र रसायनसहितको हावा हाम्रो फोक्सोमा पुग्ने बताउँदै उहाँले भन्नुभयो, “हाम्रो शरीरको प्रतिरक्षात्मक प्रणालीले केही हदसम्म ‘फिल्टर’ गर्छ, तर बाँकी प्रदूषण फोक्सोको भित्री भागसम्म पुगेर खोकी, श्वास फेर्न गाह्रो हुने र दीर्घकालीन असरहरू निम्त्याउँछ ।”
हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो तथा फोहर मिसिएको जस्तो देखिने गरेको छ । पहिलेदेखि श्वासप्रश्वासको समस्या भएकाहरूलाई यो प्रदूषणले झन बढी प्रभावित बनाएको उहाँले बताउनुभयो ।
अहिलेको अवस्थामा बिहानको व्यायाम र बाहिरी गतिविधि कम गर्न आवश्यक रहेको उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “बजार क्षेत्रमा ताजा हावा लिने अवस्था छैन, बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ, तर साना धुलाका कण मास्कले पनि पूर्ण रूपमा रोक्न सक्दैन ।” श्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरु घरमा नै बस्दा उत्तम हुने उहाँको भनाइ छ । खानपिनको सफाइमा पनि ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
भरतपुर आँखा अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले पछिल्ला दिनमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । अहिलेको वायु प्रदूषणका कारण आँखा पोल्ने, आँसु आउने, आँखा खोल्नै कठिन हुनेजस्ता समस्या लिएर बिरामी अस्पताल आउने गरेको बताउनुभयो ।
अहिलेको प्रदूषणले बालबालिकामा बढी असर पारेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बालबालिकामा आँखा रातो हुने, चिलाउनेजस्ता समस्या आएको पाइएको छ ।” बालबालिका बाहिर खेल्न जाँदा बढी समस्या आउने गरेको भन्दै उहाँले बालबालिकालाई बाहिर खेल्न नदिनसमेत सुझाव दिनुभयो । आँखा पोल्यो भनेर पानीले आँखा भिजाउन नहुने उहाँको सुझाव छ । बाहिर हिँड्दा चस्माको प्रयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ । बिहानमा बाहिर नहिँड्न पनि उहाँले आग्रह गर्नुभयो ।
भरतपुर अस्पतालका वरिष्ठ वालरोग विशेषज्ञ डा किरण देवकोटा बालबालिकामा अहिलेको प्रदूषित वायुले असर गरेको बताउनुहुन्छ । पहिलेको तुलनामा अहिले अस्पतालमा आउने बालबालिकाको सङ्ख्या बढेको बताउँदै उहाँले यो अवस्थामा बालबालिकालाई बाहिर निस्कन नदिन सुझाव दिनुभयो ।
प्रदूषित वायुका कारण बालबालिकामा श्वाशप्रश्वासको समस्या बढी देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बच्चामा रुघाको जस्तै लक्ष्यण देखिने तर छातीमा धेरै असर नगरेको भए पनि घाँटीमा र श्वास नलीमा असर गरेको छ ।”  श्वासनलीको माथिल्लो भागमा असर गरेर यही बढ्दै गएर निमोनिया हुने गरेको उहाँले बताउनुभयो ।
अहिले विद्यालयमा वार्षिक परीक्षा सकेर बिदा दिइएको छ । यो समयमा अधिकांश बालबालिका बाहिर खेल्न रुचाउने भन्दै उहाँले घरभित्रै राख्न र प्रदूषणबाट जोगाउन सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology