Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

 मानव सेवा आश्रमद्वारा रु एक करोडको अक्षयकोष स्थापना


2.2K
Shares

 मानव सेवा आश्रमद्वारा रु एक करोडको अक्षयकोष स्थापना
झापा, २१ चैत । सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि मानव सेवा आश्रमले झापामा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ ।
सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्यक्तिहरूको भरणपोषण र हेरचाहका लागि दिगो स्रोत जुटाउन अक्षयकोष स्थापना गरिएको आश्रमका संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । अक्षयकोषमा जो कोही दाताहरूले रकम प्रदान गर्नसक्ने र त्यसरी प्राप्त कोषको ब्याजबाट आश्रितहरूको दैनन्दिनको खर्च जुटाउन सहज हुने उहाँको भनाइ छ ।
समाजसेवी नीलकण्ठ तिवारीले अक्षयकोषका लागि आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा रु एक लाख ११ हजार १११ प्रदान गरेर सहयोगको थालनी गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा आश्रम रहेको छ । स्थानीय रामबहादुर प्रधानले आश्रमका लागि दुई बिघा पाँच कट्ठा जमिन निःशुल्क प्रदान गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिरमा आश्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो । गत साउनदेखि नै आश्रममा अनौपचारिक रूपमा सहयोगापेक्षी सडक आश्रित मानवहरूलाई आश्रय दिइँदै आइएको छ ।
हाल यहाँ ४३ रहेका छन् । ७६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरेर ल्याइएकामा २२ जनालाई उहाँहरूकै परिवारमा पुनर्मिलन गराइएको र पाँच जनाको देहान्त भएको संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।
आश्रमले आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने कोही नभएका, सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अति कमजोर र अनाथ मानवहरूको उद्धार गरी आश्रय दिँदै आएको छ ।
विसं २०६९ मा हेटौँडामा औपचारिक रूपमा मानव सेवा आश्रमको स्थापना गरिएको थियो । आश्रमले नेपाललाई सडक मानवमुक्त बनाउने गरी उद्धार तथा आश्रय प्रदान गर्ने देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology