गोरखा, १३ चैत । गोरखामा एआई ‘आर्टिफिसियल इन्टिलिजेन्स’ चेस्ट एक्सरे मेसिनबाट क्षयरोगको परीक्षण सुरु गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले यहाँका चारवटा स्थानीय तहमा एआई एक्सरे मेसिनबाट क्षयरोगको परीक्षण थालिएको कार्यालयका ल्याव टेक्निसियन निरीक्षक नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।
‘‘प्रारम्भिक चरणमा बारपाक सुलिकोट गाउँपालिका, गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र धार्चे गाउँपालिकामा एआई एक्सरेबाट क्षयरोगको परीक्षण गरिएको हो, उहाँले भन्नुभयो, ‘‘सो क्रममा २ हजार ३२५ जनालाई सेवा प्रदान गरिएको छ ।’’ एआई एक्सेरबाट क्षयरोगको परीक्षण गरिएका मध्ये ४४ जना क्षयरोगको पुष्टी भएको निरीक्षक अर्यालको भनाई छ ।
कार्यालयले बारपाक सुलिकोट गाउँपालिकामा ५ सय ४५ जना, भीमसेन थापामा १ हजार २६ जना र धार्चे गाउँपालिकामा २ सय ७६ जनामा एआई एक्सरे मेसिनबाट क्षयरोगको परीक्षण गरेको हो । त्यस्तै गोरखा नगरपालिकामा ४ सय ७८ जनाको क्षयरोगको जाँच गरिएको उहाँले बताउनुभयो ।
‘‘यो उपकरण सजिलै बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ, उहाँले भन्नुभयो, ‘‘यसबाट एक्सरे गर्ने वित्तिकै रिपोर्ट हेर्न सकिने र बिरामीको खकार परीक्षण गर्नु पर्ने नपर्ने जानकारी पनि दिन्छ ।’’ ग्लोबल फण्डको आर्थिक सहायतामा नेपालमा ९ वटा यस्ता एक्सरे मेसिन राष्ट्रिय क्षयरोग केन्द्रले भित्राइएको छ ।