गोरखा, १२ चैत । गोरखाको भीमसेन थापा गाउँपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क सामुहिक दुर्घटना बीमाबाट पालिका भित्रका १६ जना लाभाव्दित भएका छन् । गाउँपालिकाले बि.स २०८० देखि सुरु गरेको सामुहिक दुर्घटना बीमाबाट पालिका भित्रका ८ जना महिला र ८ जना पुरुषले दुर्घटना बीमाबापतको रकम भुक्तानी लिइसकेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।
दुर्घटना बीमाबापत वडा नम्बर १ का ७ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ७ का ३ जना र वडा नम्बर ८ का ५ जना लाभाव्दित भएका हुन् । भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ ।
दुर्घटनामा परेका नागरिकको स्वास्थ्य उपचार एवं मृत्यु भएका परिवारलाई राहत सहयोग पु¥याउन पालिकाले पालिका भित्रका कुल १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गर्दै आएको हो ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको पालिकाले सामूहिक दुर्घटना बीमा गरेको अध्यक्ष बन्जराले बताउनुभयो ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडसंग सम्झौता गरेर पालिकाभित्रका नागरिकको कुनै पनि प्रकारको दुर्घटना भएमा कम्पनीले बीमा पोलिसीअनुसारको उपचार खर्च पिडित वा पिडितका परिवारलाई उपलब्ध गराउँदै आएको छ ।
नेपालभर भीमसेनथापा स्थायी घर भएका कोहीपनि कुनैपनि प्रकारको दुर्घटनामा परेर ज्यान गुमाएमा समेत बीमा कम्पनीले सम्बन्धित परिवारलाई रु ५० हजार उपलब्ध गराउने गरी बीमा पोलिसी लागू गर्दै आएको छ ।
दुर्घटना बीमा कार्यक्रमबाट गाउँपालिकावासी सबै नागरिकले दुर्घटनाबाट सिर्जित मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अङ्गभङ्ग, औषधोपचार आदि सुविधा प्राप्त गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।
अहिलेसम्म ३५ जनाभन्दा बढीको बीमाबापतको रकम कम्पनीबाट भुक्तानीको प्रक्रियामा रहेको उहाँको भनाई छ । बीमा रकमको भुक्तानीका लागि दुर्घटनामा परेका बिमितको उपचार खर्च बीमालेखको अधिनमा रही सक्कली बिल बुझाएपछि प्राप्त गर्दै आएका छन् ।