गोरखा, ११ चैत : जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी नायव निरीक्षक मिलन पन्थ ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले हरेक महिना घोषणा गर्दे आएको ‘बेष्ट पुलिस अफ द मन्थ’ फागुन महिनामा कार्य सम्पादनका आधारमा प्रहरी नायव निरीक्षक पन्थलाई उत्कृष्ट प्रहरी घोषित गरिएको कार्यालयले जनाएको छ ।
उहाँलाई आज एक कर्याक्रमका बीच जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले नगद पुरस्कारसहित सम्मान गर्नुभएको छ । पदीय जिम्मेवारी र दायित्वलाई इमान्दार, बफादार, कर्तव्यनिष्ठताका साथ उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेकाले उहाँलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
उत्कृष्ट प्रहरी घोषित पन्थले विभिन्न प्रकृतिका अपराधहरुमा तदारुकताका साथ खटिई गई घटनाहरुको सुक्ष्म रुपमा अनुसन्धान गरी अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यालयले उल्लेख गरेको छ ।