एजेन्सी,७ चैत । पश्चिमी देशहरूको सबै आलोचनाको बाबजुद तालिवान सरकारले एकपछि अर्को आदेश जारी गरिरहेको छ । यसअघि महिलालाई समाचार वाचन र रिपोर्टिङबाट हटाएकामा अब नयाँ आदेशमा रेडियोबाट पनि महिलालाई हटाइएको छ ।
अब अफगानिस्तानको रेडियोमा महिलाको आवाज सुनिने छैन । अफगानिस्तान पत्रकार केन्द्रका अनुसार तालिबानले कान्दाहार सहरमा नयाँ मिडिया प्रतिबन्ध लगाएको हो । तालिवानको सूचना तथा संस्कृति निर्देशनालयले जारी गरेको निर्देशन अनुसार रेडियोमा महिलाको आवाज प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ ।
यस बाहेक तालिबानले धेरै निर्देशन दिएको छ, जसलाई रेडियो स्टेशनहरूले पालना गर्नुपर्नेछ। निर्देशनले सबै रेडियो स्टेशनहरूलाई तालिवान नेता हिबतुल्लाह अखुन्दजादालाई ‘सम्मानित अमीर अल–मुमिनिन, अल्लाहले रक्षा गरून्’ भनेर उल्लेख गर्न पनि आदेश दिएको छ ।
यसबाहेक, सञ्चारमाध्यमहरूले तालिवान सरकारलाई ‘इस्लामिक इमिरेट्स’ भनेर सम्बोधन गर्नुपर्नेछ । यसबाहेक नयाँ अध्यादेशमा धेरै प्रकारका विज्ञापनमा प्रतिबन्ध लगाइएको छ ।
औषधि, कस्मेटिक उत्पादन र स्वास्थ्य सेवाहरूको विज्ञापन सार्वजनिक स्वास्थ्य निर्देशनालयले आधिकारिक रूपमा अनुमोदन नगरेसम्म प्रतिबन्ध लगाइएको छ ।
यसबाहेक रिपोर्टिङ वा कार्यक्रमका लागि कान्दाहार जाने रेडियोका कर्मचारीले पनि सूचना तथा संस्कृति निर्देशनालयबाट अनुमति लिनुपर्नेछ । अफगानिस्तान पत्रकार केन्द्रले यसको विरोध गरेको छ ।