गोरखा २२, पुस ।
गोरखामा श्रमजीवि पत्रकार ऐन र न्युनतम पारिश्रमिक कार्यान्वयनको अबस्था र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गोरखा शाखा र न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला भित्र सञ्चालनमा रहेका सञ्चार माध्यमहरुमा न्युनतम पारिश्रमिक कार्यान्वयन अबस्था सन्तोष जनक रहेको सहभागीहरुले बताएका छन् ।
स्थानीय सञ्चार माध्यम भन्दा पनि राष्ट्रिय स्तरको सञ्चारमाध्यमहरुमा ऐन कार्यान्वयनको अबस्था सन्तोषजनक नहरेको बताएका छन् । कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले देशभरीकै सञ्चार माध्यममा पछिल्लो समय श्रमजीवि पत्रकार ऐन कार्यान्वयन शुरु भएको बताउनुभयो ।
उहाँले श्रमजिवी पत्रकारहरुले सञ्चारमाध्यममा काम शुरु गर्दा नियुक्तीपत्र लिएर मात्र काम गर्नुपर्नेमा जोड दिदै सरकारलाई ऐन कार्यान्वयनमा समितिले बिभिन्न सुझाब दिएको बताउनुभयो ।
‘समितिले राष्ट्रिय, प्रदेश र स्थानीय स्तर गरि सञ्चारमाध्यमहरुलाई बिभाजन गरि पारिश्रमिक बृद्धिका लागि प्रतिबेदन पेश गरेका थियौ, उहाँले भन्नुभयो, तर सरकारले सवै सञ्चारमाध्यममा २५ प्रति पारिश्रमिक बृद्धि गर्ने निर्णय गर्दा केही समस्या भएको छ ।’
अध्यक्ष पराजुलीले सञ्चारमाध्यमले ऐन कार्यान्वयन गर्न राज्यको उपलब्ध गराउने लोककल्याणकारी बिज्ञानलाई सर्तको रुपमा अघि सार्ने गरेको भन्दै सञ्चारमाध्यमले लोककल्याणकारी बिज्ञापन पाएपनि नपाएपनि ऐन कार्यान्वयन गर्नै पर्नेमा जोडदिनुभयो ।