गोरखा, ४ चैत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै गोरखाका क्याम्पसमा यसको सरगर्मी पनि बढ्न थालेको छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यतिबेला विद्यार्थी सङ्गठन अन्तिम तयारीमा जुटेका छन् ।
देख्दा विद्यार्थी सङ्गठनको चुनाव भए पनि यसको रन्को मातृ पार्टीसम्म पुगेको छ । गोरखाको गोरखा क्याम्पस गोरखा र द्रव्यशाह बहुमुखी क्याम्पसमा भोली स्ववियुको निर्वाचन हुँदैछ । निर्वाचनको नजिता आफ्नो पक्षमा पार्न गोरखामा सत्ता गठबनन्धन पक्ष र प्रतिपक्ष समाजवादी मोर्चाको दुई वटा गठबन्धन बनाएर विद्यार्थीहरु स्ववियुको निर्वाचन होमिएका छन् ।
स्ववियु निर्वाचन चैत ५ गते सम्पन्न हुँदै छ । एकातिर विद्यार्थी सङ्गठनको हक–अधिकार सुनिश्चित गर्नुपर्ने र अर्कोतर्फ आफैँमा नेतृत्व क्षमता विकास गर्ने अवसरका रूपमा विद्यार्थी सङ्गठनले यस निर्वाचनलाई प्रयोग गर्न खोजेका छन् ।
विद्यार्थीका हकहितका विषयवस्तु तथा एजेन्डा राख्न सक्ने, आमविद्यार्थीलाई नेतृत्व गर्न सक्ने व्यक्तिलाई आफूहरूले निर्वाचनमा उमेद्वार वनाएको अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष एवं गोरखा क्याम्पस गोरखाका स्ववियुका अध्यक्ष पदका उमेद्वार सुलभ अम्गाईले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) विद्यार्थी सङ्गठनबिच प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि विद्यार्थीको हक र अधिकारको एजेन्डा बोक्ने नेतृत्वलाई निर्वाचनमार्फत चयन गर्नुपर्ने बताएको छ ।
निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीबाट हुने छ । स्ववियु निर्वाचन कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ ।
यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । चैत ५ गते ठिक दुई वर्ष पुग्छ । कानुनी जटिलता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्ने निर्णय त्रिविले गरेको हो ।