काठमाडौ, २६ फागुन । राप्रपालगायतका केही समूह, सङ्गठनको अगुवाइमा काठमाडौँमा पूर्व राजा समर्थकले हिजो निकालेको जुलुशलाई पाठको रूपमा लिएर गल्ती, कम्जोरी सच्याएर अघि बढ्न विश्लेषकहरूले राजनीतिक दललाई आग्रह गरेका छन् ।
राजनीतिक दलहरूले भने पूर्व राजा र समर्थकको गतिविधिको विरोध जनाउँदै आएका छन् । विश्लेषकहरू भने राजालाई पनि सामान्य नागरिक वा दलहरूले पाएको अधिकार भएको उल्लेख गर्दै राजसंस्थावादीहरूको गतिविधिलाई सिकाइको रूपमा लिनुपर्ने बताउँछन् ।
विश्लेषक जैनेन्द्र जीवनले राज संस्था फर्कने तत्कालको सम्भावना नभए पनि हिजो काठमाडौँमा निकालिएको ¥यालीले दल, नेतृत्व र शासनव्यवस्थामा रहेकाहरूलाई चेतावनीको सङ्केत गरेको टिप्पणी गर्नुभयो । यद्यपी बाह्य शक्तिको भूमिका, राजसंस्थाप्रतिको बुझाइले नेपालमा हुने राजनीतिक परिवर्तनलाई प्रभाव पार्न सक्ने उहाँको भनाइ छ । अहिलेका राजनीतिक दल, सरकार र मातहतका निकायबाट नागरिकले गरेको अपेक्षा पूरा नभएका कारण पूर्व राजाप्रतिको समर्थन बढेको नागरिक समाजका अगुवा बताउँछन् ।
हिजो भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले निकालेको वक्तव्यमा आफूहरूलाई साथ चाहिएको बताए पनि केका लागि साथ खोजेको भन्ने नखुलेको भन्दै व्यङ्ग्य गर्नुभयो । सुर्खेतमा गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको सुन्दर पक्ष भनेकै पूर्वराजाले पनि सामान्य नागरिकको सरह सुविधा, अधिकारसहित नेपालमै बस्नु रहेको उल्लेख गर्दै राजसंस्था फर्किने सम्भावना नरहेको बताउनुभयो ।