गोरखा ३० चैत । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले गोरखाका कुनैपनि नागरिक कोरोना भाइरसबाट संक्रमित हुन नहुने गरी काम गर्न सरोकारवालाहरुलाई निर्देशन गर्नुभएको छ ।
आज सांसद अधिकारीले गोरखा जिल्ला अस्पतालमा विरामीको उपचार प्रक्रियाका बारेमा जानकारी लिएपछि स्वास्थ्यकर्मीहरुलाई यस्तो आग्रह गर्नुभएको हो । गोरखा अस्पतालले सिङ्गो जिल्लाको नेतृत्व गरेर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।
केन्द्र, प्रदेश र स्थानीय तहका सरकार मिलेर अस्पतालको विकास गर्नुको विकल्प नभएको सांसद अधिकारीले बताउनुभयो । भर्खरै केन्द्रबाट आएको एक करोडको काम छिटो गर्न सुझाव दिँदै आवश्यक परे थप बजेट निकासा गर्न आफूले प्रस्ताव गर्ने उहाँले बताउनभयो ।
यसैवीच सांसद अधिकारीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसँग भेट गरी लकडाउनलाई व्यवस्थित गरी रोग भित्रन नदिन सबै संयन्त्र परिचालन गर्न सुझाव दिनुभएको छ ।
यतिबेला जीवन मुख्य कुरा हो नागरिकहरुको जीवन बचाउन कडाइका साथ लाग्नुपर्ने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले गाउँका नागरिकहरुले गाउँमा नयाँ मानिस आउने वित्तिकै सुरक्षा प्रशासनलाई खबर गरी सहयोग गरेको, गाउँमा नयाँ मान्छे भित्रिन नदिन थुनछेक समेत गरेर सहयोग पुर्याएको जानकारी सांसद अधिकारीलाई गराउनुभयो ।
सामूहिक क्वारेन्टाइनमा बसेका मानिसहरुको स्वाव लिएर काठमाण्डौ पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । थर्मल गन थर्मो मिटर जिल्ला प्राप्त गर्न समस्या भएको उहाँले गुनासो गर्नुभयो । सांसद अधिकारीले गोरखा अस्पतालमा दुई हजार थान मास्क, १७ लिटर सेनिटाइजर र ७०० थान ग्लोव समेत आजै हस्तान्तरण गर्नुभयो ।