गोरखा, १८ फागुन । उत्तरी गोरखामा पछिल्लो केही दिन भारी हिमपात भएकोभन्दै पदयात्रामा जाने जो कोहीले पनि सावधानी अपनाउन सशस्त्र प्रहरी बल नेपालले आग्रह गरेको छ ।
उत्तरी गोरखाको साम्दो क्षेत्रमा ३ फिटसम्मको हिउँ परेकोभन्दै सशस्त्र प्रहरी बल नेपालले पदयात्रामा जाने जो कोहीलाई पनि सावधानी अपनाउन भनेको सह(प्रबक्ता एवं सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चुमनुब्री गाउँपालिका(१ को साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ रहेकोले पदमार्गमा यात्रा गर्ने पर्यटकहरुलाइ साबधान रहन भनेको हो । उक्त क्षेत्रमा हिजोसम्म हिउँ परेको भएता पनि रातीबाट पर्न छाडेको छ ।
भारी हिमपातका कारण बाटोघाटो अबरुद्ध भएको बिओपी साम्दोले जनाएको छ । बिओपीको टोलीले बाटोको हिउँ पन्छाउने कार्य गरिरहेको छ ।
उत्तरतर्फका पदमार्गमा सशस्त्र प्रहरि बलका बोर्डर आउट पोस्ट स्थापना भइसकेकोले बिपद्मा परेको खण्डमा उद्दारका लागी सशस्त्र प्रहरी बलको हटलाइन नम्बर १११४ मा फोन गर्न समेत अनुरोध सह(प्रबक्ता थापाले बताउनुभयो । सो क्षेत्र मनास्लु पद मार्गको मुख्य मार्ग हो । उक्त मार्ग भएर लार्के पास गरी पदयात्रीहरु मनाङको भिमथाङ जाने गर्दछन् ।