Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


2.3K
Shares

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गर्नुभएको छ । साथै उहाँले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताउनुभएको छ ।

विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले विश्वव्यापी व्यापार युद्धको डर फैलाएको छ ।

अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले यस महिना क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । तर एक महिना लामो विश्राम मङ्गलबार समाप्त हुँदैछ ।

अर्को हप्ता शुल्कमा अगाडि बढ्ने योजना छ कि छैन भन्ने पत्रकारहरूको प्रश्नपछि ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा जबसम्म फेन्टानिलको समस्या बन्द हुँदैन ‘वा गम्भीर रूपमा सीमित हुँदैन’ प्रस्तावित शुल्कहरू निर्धारित रूपमा हुने लेख्नुभएको छ ।

“चीनलाई पनि त्यही मितिमा १० प्रतिशत थप शुल्क लगाइनेछ”, उहाँले मार्च ४ को सन्दर्भमा भन्नुभयो । यस महिनाको सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क वृद्धि गर्नुभयो । यसबाट बेइजिङलाई जवाफी कारबाही गर्न उत्प्रेरित गर्‍यो ।

एक अमेरिकी अधिकारीले फेन्टानिलका कारण लगाइएको अवस्थित शुल्कमा नयाँ १० प्रतिशत शुल्क थपिएको पुष्टि गर्दै लागूपदार्थ मामिलामा ‘अपर्याप्त प्रगति’ भएको बताएका छन् ।

फेन्टानिल मुद्दालाई सम्बोधन गर्न वासिङ्टनले तीनवटै देशविरुद्ध कारबाही गर्नुपर्ने अधिकारीले बताए । चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले बिहीबार वासिङ्टनको अघिल्लो १० प्रतिशत शुल्कप्रति चिन्ता व्यक्त गर्नुभयो ।

“चीन यसको दृढतापूर्वक विरोध गर्दछ र सम्बन्धित जवाफी कदमहरू चालेको छ”, नवनियुक्त अमेरिकी व्यापार प्रतिनिधि ९युएसटिआर० जेमिसन ग्रिरलाई लेखेको पत्रमा वाङले भन्नुभयो ।

ट्रम्पको खतराबाट आफ्नो अर्थतन्त्रलाई जोगाउने योजना बनाउन चिनियाँ नेतृत्वको बैठक अर्को हप्ता बस्ने भएको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार ट्रम्पको धम्की शुल्कबाट बच्न उहाँसँग कुरा गर्ने आशा गरेको बताउनुभयो ।

एक उच्चस्तरीय मेक्सिकाली प्रतिनिधिमण्डल सम्झौताको खोजीमा वासिङ्टनमा छ । साथै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अधिकारीहरूले अमेरिकी करहरू रोक्न चौबीसै घण्टा काम गरिरहेको तर अर्को हप्ता उपायहरू लागु भएमा ‘तत्काल’ प्रतिक्रिया हुने बताउनुभयो ।

संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने फेन्टानिल र कागजातविहीन आप्रवासीहरूको एक प्रतिशतभन्दा कम क्यानाडाको सीमाबाट आउने कुरामा ट्रुडोले बारम्बार जोड दिनुभएको छ ।

ट्रम्पको धम्कीले प्रमुख निर्यातक देशहरूमा कम्पन पैदा गरेको छ । टोकियोमा केही समयका लागि तीन प्रतिशतको गिरावटसँगै शुक्रबारको सुरुमा एसियाली बजारहरू रातो रङमा थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology