एजेन्सी, ३० माघ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले शनिबारसम्म थप बन्धक रिहा नगरे गाजा युद्धविराम भङ्ग हुने चेतावनी दिनु भएको छ । हमासले यो हप्ताको अन्तिममा सम्झौताअनुसार इजरायली बन्धकलाई रिहा नगर्ने प्रतिक्रिया दिएलगत्तै प्रधानमन्त्री नेतन्याहूले यस्तो चेतावनी दिनु भएको हो । हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहाई रोक्ने प्रतिक्रिया दिएको हो ।
यसैबीच यमनका हुथी नेताले गाजामा युद्धविराम असफल भएमा इजरायल विरुद्ध सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । हुथी नेता अब्दुल–मलिक अल–हुथीले गाजा युद्धविराम उल्लंघन गरे इजरायल विरुद्ध सैन्य कारबाही गर्न तयार रहेको बताउनुभएको हो ।
एक टेलिभिजन सम्बोधनमा, अल–हुथीले यस क्षेत्रमा अमेरिकी नीतिहरू विरुद्ध अरब र इस्लामिक एकताको आवश्यकतामा जोड दिँदै प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने योजनाको निन्दा गर्नुभयो ।