काठमाडौ, ८ माघ । आन्तरिक रोजगार प्रवर्धन दशकको रणनीतिक कार्ययोजना बनाउन सरकारले पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ ।
फागुन १६ र १७ गते गरिने सम्मेलनका लागि दातृ निकायसँग सहकार्य गर्ने सरकारको तयारी छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाअनुसार आवश्यक खर्च व्यवस्थापनका लागि दातृृ निकायसँग छलफल गरिरहेको मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिइने मन्त्रालयका सुचना अधिकारी हुमनाथ पराजुलीले बताउनुभयो ।
सम्मेलनका लागि मन्त्रालयले श्रमसचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा मूल समारोह समिति बनाएको छ । सरकारले यसअघि २०५४, २०६१, २०६९ र २०७६ सालमा यस्तो सम्मेलन आयोजना गरेको थियो ।