एजेन्सी,६ माघ । गाजामा आज बिहानैदेखी लागु हुने भनिएको युद्धविराम ३ घण्टा ढिलो गरी शुरू भएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच १५ महिनाको युद्धपछि आजदेखि युद्धविराम शुरू भएको हो ।
हमासले पहिलो चरणमा रिहा गर्ने ३ जना इजरायली महिला बन्धकको नाम सार्वजनिक गर्न ढिला गरेकै कारण इजरायली आक्रमणमा कम्तीमा १९ जनाको ज्यान गएको छ । आक्रमणमा परी ३६ जना घाइते भएका हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्स एजेन्सीले जनाएको छ ।
इजरायली आक्रमण लगत्तै हमासले ३१ वर्षीया भेटेरिनरी नर्स डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया एमिली डमारीको नाम सार्वजनिक गरेको हो ।
गाजा युद्धविराम स्थानीय समयानुसार बिहान ८स्३० बजे कार्यान्वयनमा आउने भनिएको थियो । तर हमासले रिहा हुने बन्धकको सूची सार्वजनिक गर्न ढिला गरेको भन्दै इजरायली प्रधानमन्त्रीको कार्यालयले स्थानीय समयानुसार ११स्१५ मिनेटदेखि युद्धविराम सम्झौता कार्यान्वयनमा आएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
यसैबीच इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्रीसहित २ जना अन्य मन्त्रीले गाजा युद्धविराम सम्झौताको विरोध गर्दै सरकारबाट राजीनामा दिएका छन् ।
युद्धविरामको पहिलो चरणमा ६ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ । युद्धविरामको गाजावासी र बन्धक बनाइएका परिवारले स्वागत गरेका छन् भने यसलाई स्थायी शान्तिको प्रयासका रूपमा हेरिएको छ ।
मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ जना इजरायली बन्धकको बदलामा १ हजार ८९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ ।