काठमाडौ, २ माघ । तराईमा चिसोबाट बच्न आगो बालेर ताप्ने क्रममा सावधानी नअपनाउँदा मृत्युसमेत हुन सक्ने भन्दै सचेत हुन विज्ञले अनुरोध गरेका छन् ।
अन्य मौसममा खाना पकाउँदा जलनका घटना हुने गरेको भएपनि जाडो महिनामा भने आगो ताप्दा जलनका घटना धेरै हुने गरेका कीर्तिपुर अस्पतालको तथ्याङ्कले देखाएको छ ।
विशेषगरि तराईमा घुर ताप्ने क्रममा, बालबालिका र जेष्ठ नागरिक जलनमा पर्ने गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार तराईमा हरेक वर्ष औसतमा १० जनाको घुर ताप्ने क्रममा जलेर मृत्यु हुने गरेको छ ।
घुर परालको आगो भएकाले हुरहुर्ति बल्ने गर्छ । यस्तो बेला शरिरमा लगाएको कपडामा आगो सल्किँदा जलनमा पर्ने जोखिम बढ्छ । घुर ताप्दा सकेसम्म सुतिको कपडा लगाउने र नजिकै नबस्ने गरेमा, जलनबाट जोगिन सकिने अग्नी नियन्त्रक राजकुमार ठकुरीको भनाइ छ ।
स्थानीय सरकारले घुर ताप्दा हुने जोखिमबारे सचेतना फैलाउनु पर्नेमा पनि विज्ञले जोड दिएका छन् ।