गोरखा, २७ पुस । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता एवं पूर्वमन्त्री हरिबहादुर चुमानले परिवर्तनका लागि माओवादी केन्द्र लागिपरेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल तनहुँ शाखाको शुक्रबार खैरेनीटारमा आयोजित पाँचौं जिल्ला सम्मेलनको उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
जनतालाई परिवर्तनको अनुभूति हुन नदिन पूराना दलहरुले भूमिका खेलिरहेकाले प्रेस सेन्टरले चेतना जगाउनुपर्ने बताउनुभयो । माओवादी परीवर्तनका लागि लागिरहेको सन्देश फैलाउन आवश्यक रहेको उहाँले औल्याउनुभयो । माओवादी केन्द्रप्रति जनताको आशा पलाउँदै गएकाले यसलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथी दीपक श्रेष्ठ जलनले लोकतान्त्रिक गणतन्त्रको मुख्य पहरेदार प्रेस सेन्टर भएको उल्लेख गर्नुभयो ।
प्रेस सेन्टर तनहुँका अध्यक्ष एस।बि।नेपालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र तनहुँका संयोजक ओमराज आले मदन,शुक्लागण्डकी नगरपालिका उपप्रमुख खुमबहादुर बिक राजु,केन्द्रिय सदस्य रामबहादुर घले परियार,प्रेस सेन्टर कास्कीका अध्यक्ष अर्जुन काफ्ले,नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर अध्यक्ष शरण सापकोटा,निवर्तमान अध्यक्ष मनराज गुरुङ,प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष अमरराज नहर्की,स्वतन्त्र पत्रकार संघ तनहुँका अध्यक्ष सुरेश सुनार लगायतका वक्ताहरुले आ आफ्ना धारण राखेका थिए ।
प्रेस सेन्टर तनहुँको अध्यक्षमा अस्मिता खनाल निर्वाचित हुनुभएको छ । शुक्रबार तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली रिसोर्टमा भएको पाँचौ जिल्ला अधिवेशनले खनालको नेतृत्वमा नयाँ नेतृत्वमा सर्वसम्मत चयन गरिएको हो ।
नेकपा माओवादी केन्द्रको शुभेच्छुक संस्था प्रेस सेन्टर तनहुँको उपाध्यक्षमा अशोक विश्वकर्मा, सचिवमा विनोद ढुंगाना, कोषाध्यक्षमा सावित्रा कोइराला, सहसचिवमा सुष्मा गुरुङ चयन भए । सदस्यमा विनिता भण्डारी, अनिता गुरुङ, सुष्मा सेन्चुरी रहेका छन् । ११ सदस्यीय कार्यसमितिमा तीन जना पछि मनोनित गरिनेछ ।
पाँचौ अधिवेशनको अवसरमा दुई जना पत्रकार पुरस्कृत भएका छन् । कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट उज्जवल पौडेल र त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कारबाट अस्मिता खनाल पुरस्कृत भएका हुन् । पौडेल नेपाल पत्रकार महासंघको निर्वतमान अध्यक्ष र खनाल निर्वतमान उपाध्यक्ष हुन् । दुवै पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ ।