गोरखा, २४ पुस । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक बर्षमा १० हजार भन्दाबढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार ६ सय ५ जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का संरक्षण अधिकृत एव सूचना अधिकारी भूवनराज ओझाले जानकारी दिनुभयो ।
अघिल्लो बर्ष सन् २०२३ को तुलनामा गएको बर्ष १ हजार ४ सय २८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको उहाँले बताउनुभयो । ‘‘अघिल्लो बर्ष ९ हजार १ सय ७७ जना विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेका थिए, अधिकृत ओझाले भन्नुभयो, ‘‘गतबर्ष अहिलेसम्मकै सवैभन्दा विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन् ।’’
मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकहरुमा सार्क राष्ट्रका भन्दा तेस्रो मुलुकका विदेशी पर्यटकको संख्या बढी रहेको उहाँको भनाई छ । स्न २०२४ मा सवै भन्दाधेरै फ्रान्सबाट १ हजार ३ सय ३५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको पाइएको छ ।
‘‘गतबर्ष मनास्लु भ्रमण गर्ने विदेश पर्यटकमध्ये १ हजार १ सय ८१ जना जर्मनी नागरिक, ७ सय ९६ जना अमेरिकी नागरिक रहेको कार्यालयको तथ्याङ्क छ, अधिकृत ओझाले भन्नुभयो, ‘‘सार्क राष्टमध्ये भारतबाट सवै भन्दाधेरै १ सय ५९ जना पर्यटकले मनास्लु पदयात्रा गरेका छन् ।’’
त्यस्तै नेदरल्याण्ड, जर्मन, बेलायत, अष्ट्रेलिया, स्पेन, चीनलगायतका देशबाट विदेशी पर्यटकहरु मनास्लु क्षेत्र घुम्न पुग्ने गरेको उहाँको भनाई छ । मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनस्लु हिमाल, विरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्नेछन् ।
त्यस्तै चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित श्रृगी हिमाल, राजेन गुम्बालगायतका गुम्बाहरुको अवलोकन गर्न पाउनेछन् । मनास्लु क्षेत्रमा प्राकृतिक सौन्र्दयतासंगै पर्यटकले हिमचिुतवा, नाउर घोरल, डाँफे, मुनाल चौरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्दछन् ।