Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अटिजम भएका बालबालिकाको हेरचाह निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय


1.8K
Shares

अटिजम भएका बालबालिकाको हेरचाह निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय

काठमाडौँ, १४ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उहाँले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताउनुभएको हो ।

अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरूमा प्रभावकारी काम गर्नका लागि भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका छन् । यसका लागि डाक्टर दीपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ।

समितिमा दीपकराज सापकोटा, डाक्टर सुनिता मलेकु, डाक्टर मेरिना श्रेष्ठ, डाक्टर अरुण कुँवर सदस्य छन्। यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधिलाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ ।

समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ। यसैगरी, अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्नेछ । समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरू तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिहरूको संख्या ४ हजार ८८४ देखिन्छ । तर, विश्व स्वास्थ्य संगठनले भने नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology