गोरखा, ७ पुस । हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले मङ्सिर महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
गएको मङ्सिर १८ गते गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, स्थित सुचिना घलेको हत्यामा संलग्न सोही ठाउँमा ४२ बर्षका मनशम्सेर गुरुङलाई डिएसपी सुवेदी नेतृत्वको प्रहरीको टोली गम्भीर अनुसन्धानपछि पक्राउ गरेको थियो ।
गम्भीर प्रकृतिको घटनाको अनुसन्धानमा प्रसंसनीय एवं नेतृत्वदायी भूमिका निवार्ह गरेको भन्दै गण्डकी प्रहरी कार्यालयले हिजो उहाँलाई मङ्सिर महिनाको उत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक भोलाबहादुर रावलले जानकारी दिनुभयो । प्रदेश प्रहरी कार्यालयले महिनको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०८१ अनुसार मातहतका सवै कार्यालयबाट सिफारिस भएका प्रहरी कर्मचारी मध्ये कार्य विवरण मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रहरी छनौट गर्ने गरिएको उहाँको भनाई छ । बारपाकस्थित जंगलमा घाँस काट्न गएकी घलेलाई गुरुङले जवरजस्ती करणी प्रयास गर्दा प्रतिकार गरेपछि कर्तव्य गरी हत्या गरेर खाडल पुरेको अवस्थामा शव फेला परेको थियो ।
सोही घटनामा डिएसपी सुवेदीको नेतृत्वमा खटिएको टोलीले घटनाको ८ दिनपछि संलग्नलाई नियन्त्रणमा लिन सफल भएको थियो । पक्राउ परेका गुरुङमाथि हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।