काठमाडौं, १७ मंसिर । स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । अधिकांश स्थानको मतपरिणाम आइसक्दा केही ठाउँमा मतगणना सुरू नै भएको छैन । यसपालि नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदमा चुनाव भएको थियो ।
उपनिर्वाचनमा माओवादी केन्द्रले अहिलेसम्म एउटा गाउँपालिका अध्यक्ष, एउटा नगरपालिका उपपम्रुख र ६ वटा वडाध्यक्ष जितेको छ । गोरखा नगरापालिका(५ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर मगर ४८६ मत ल्याएर विजयी भएका छन् । यहाँ कांग्रेसका भाइकाजी आलेले ४०२, एमालेका दुर्गामाया थापाले ३४५ र रास्वपाका मंगलबहादुर थापाले ८२ मत ल्याए । यो वडा यसअघि कांग्रेसले जितेको थियो।
पुथा उत्तरगंगा(२ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६९६९ मत ल्याएर विजयी भए। यहाँ कांग्रेसका बलराम सरदार ५३३३ मत ल्याउँदा एमालेका तुलसीराम विश्वास ४१५९ मत प्राप्त गरे । ग्रामथानको अध्यक्ष यसअघि कांग्रेसले जितेको थियो।
जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछानेले ४२७ २ मत प्राप्त गरी विजयी भएकी छन्। त्यहाँ कांग्रेसकी इन्द्रचन्द सिंहले ३१४७ मत पाउँदा एमालेकी सुनिता बोहराले २५४२ मत ल्याए। रास्वपाकी पार्वती पुनले १७९ मत ल्याइन्। लगाडको उपप्रमुख पनि यसअघि कांग्रेसले जितेको थियो। माओवादी केन्द्रले पाँच वडाको वडाध्यक्ष पनि जितेको छ।
उदयपुरको त्रियुगा नगरपालिका( १२ को वडाध्यक्षमा माओवादीका नवीनकुमार वान्तवा राईले ९२३ मत ल्याएर निर्वाचित भएका छन्। यहाँ एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत ल्याएका छन्। कांग्रेसका संजिव काफ्लेले ३५९ र एकीकृत समाजवादीका निर्मला चौधरी ३१२ र रास्वपाका ध्रुवप्रसाद पोखरेलले २०२ मत पाए। यहाँ यसअघि कांग्रेसले जितेको थियो।
धनुषाको धनुषाधाम नगरपालिका(१ को वडाध्यक्षमा माओवादी केन्द्रका शुनिलि कापर केवट ६८६ मत ल्याएर विजयी भए।
यहाँ कांग्रेसका अशोककुमार मण्डलले ६०२, जसपा नेपालका अजयकुमार यादवले ४९९ र एमालेका प्रमोद यादव ३६५ मत ल्याए ।
यहाँ पनि २०७९ मा कांग्रेसले नै वडाध्यक्ष जितेको थियो ।
नुवाकोटको ककनी गाउँपालिका(२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे १०८५ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका छन्। कांग्रेसका सूर्य तामाङले ५८७, एमालेका यमबहादुर लामाले २४१ र रास्वपाका मंगलसिद्धी लामाले ८३ मत ल्याए । ककनी(२ मा यसअघि पनि माओवादी केन्द्रले नै जितेको थियो ।