गोरखा, १६ मङ्सिर ः गण्डकी प्रदेशमा एक मात्र उपनिर्वाचन भएको गोरखा नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्ष पदका लागि अहिले शान्तिपूर्ण रुपमा उत्साहका साथ मतदान भइरहेको छ । वडामा तोकिएका दुईवटै मतदान केन्द्रमा विहान ७ बजेदेखि नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिनुभयो ।
मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि आवश्यक सवै सुरक्षा व्यवस्था मिलाइएको छ । मतदाताहरु लाइनमा बसेर शान्तिपूर्वक मतदान गरिरहेका अधिकृत रानभाटले बताउनुभयो । यस वडामा कुल २ हजार २ सय २५ मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोरखकाली आधारभूत विद्यालयको मतदान केन्द्रमा ७ सय २४ मतदाता रहेका छन् भने शिवशक्ति आधारभूत विद्यालय केन्द्रमा १ हजार ५ सय १ मतदाता रहेका छन् ।
गोरखा नगरपालिका ५ को उपनिर्वाचनमा बिभिन्न ९ वटा राजनीतिक दलबाट ९ जना वडाध्यक्षको प्रतिस्पर्धामा रहेका छन् । गतस्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा बिजयी हुनुभएका खिलबहादुर रानाको निधन भएपछि रिक्त रहेकोको वडाध्यक्ष पदका लागि यहाँ उपनिर्वाचन भएको हो ।