कास्की, ९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।
यसअघि लामिछानेमाथि अनुसन्धान गर्न कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो। आइतबार पाँचौंपटक म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको थियो ।
कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय दिएको थियो ।
त्यसबीचमा रूपन्देहीमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई रूपन्देही लगेर बयानसमेत लिइएको थियो । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले लामिछानेसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी भएकोमा पूर्वडिआइजी छबिलाल जोशी र कुमार रम्तेललाई काठमाडौं ल्याएर बयान लिइसकेको छ । छबिलाल जोशीलाई शुक्रबार मात्रै कास्की फिर्ता गरिएको थियो।
लामिछानेलाई पनि काठमाडौं ल्याउने तयारी छ । यस्तै जिल्ला अदालत चितवनबाट पनि रवि लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको छ ।